सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धान्तकार : बालकृष्ण सम 

२०८० माघ २४, ०७:३३

डाक्टर गोविन्दशरण उपाध्याय : बालकृष्ण सम राणा परिवारमा जन्मिए - यो उनको अपराध होइन | उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो | अरू पनि राणाहरू थिए - बालकृष्ण राणा भन्दा धनी थिए, रवाफिला थिए तर तिनले समको बाटो समातिन् | समले केवल १२ क्लास पास गरेका हुन् तर आजको मितिमा १३ जनाले तिनका कृतिहरूमा पिएचडी गरिसकेका छन् | यो गौरव उनले राणा भएर प्राप्त गरेका होइनन्, लेखक, नाटककार, कविताकार तथा निबन्धकार बनेर प्राप्त गरेका हुन् |
बालकृष्ण समको निधन हुँदा नेपालमा टेलिभिजन आएको थिएन | इन्टरनेट हुने त कुरै भएन | बालकृष्ण सम इतिहास बनेका छन् | उनी सम्झन लायक इतिहास हुन् | उनका समकालीन र उनलाई देख्न नपाएका समालोचक, आलोचक र प्रशंसकहरूका दृष्टिकोण फरक डोलान् | उनी बौद्धिक आलोचनाका पात्र बने पनि गतार्थ बनेका छैनन् | 

माघ २५ गते समको जन्मजयन्ती मनाइने छ | विद्वान्हरूले आ-आफ्नो सुझबुझ अनुसार बालकृष्णको चर्चा गर्ने छन् | दर्शनशास्त्रमा अभिरुचि राख्नेहरूले "नियमित आकस्मिकता"का प्रणेताका रूपमा समलाई सम्झिनु पर्छ | हो, विश्वविद्यालयमा प्राध्यापन गर्ने दार्शनिकहरूका लागि "नियमित आकस्मिकता" दर्शनशास्त्रको शास्त्रीय कसीमा "खरो" नहोला तर नेपाली आकाशबाट "सिद्धान्त निर्माण" गरेको घोषणा गर्ने उनी पहिलो पात्र हुन् | 

बालकृष्ण समको जीवन  विश्व राजनीतिमा मार्क्सवाद र पूँजीवादको द्वन्द्वभित्र परेको थियो | मार्क्सवादी सोभियत युनियनको अन्त्य हुँदा बालकृष्ण सम संसारमा थिएनन् तर नेपाली राजनीति, शिक्षा तथा संस्कृतिका क्षेत्रमा मार्क्सवाद र पुँजीवादले पारेको प्रभाव तथा नेपालका स्थानीय संस्कृतिसंग ती दुवै विचारधाराहरूको द्वन्द्व राम्ररी बुझेका थिए | तेसैले होला, उनी पुँजीवादी, साम्यवादी वा परम्परावादी केही भएनन् | उनी "मान्छे र विज्ञानको भक्त" भएर मरे | साम्यवादीहरूले "भौतिकवादीका रूपमा, पुँजीवादीहरूले मानवतावादीको रूपमा र परम्परावादीहरूले "मौन आध्यात्मिक साधक"का रूपमा बुझे | 

आज बालकृष्ण सम जे-जस्तो रूपमा उपस्थित छन्, त्यो उनको लिखितम् नै हो | उनका "लिखितम्"बाट जसको जस्तो दृष्टिकोण, विश्वास र बुझाई छ, तेसै गरी समको व्याख्या गर्ने छन् | यो प्रक्रिया चलिनै रहन्छ | मेरो दृष्टिकोणमा भने समको समग्र जीवन दर्शन चारजना व्यक्तिहरूको वरिपरी घुमेको छ - महर्षि पँजली, महात्मा बुद्ध, कवि सेक्सपीयर र मनोवैज्ञानिक फ्रायड | नियमित आकस्मिकतामा प्रष्टसँग उनले उपर्युक्त व्यक्तिहरूका मौलिक सिद्धान्तहरूले जीवन दर्शन निर्देशित भएको बताएका छन् |
बालकृष्ण समले कार्लमार्क्सको आलोचना गरेका छैनन् न् प्रशंसा नै गरेका छन् | यसैगरी उनले जर्ज वासिग्टनलाई "प्रजातन्त्रका पिता" पनि मानेका छैनन् न आलोचना नै गरेका छन् | साथै, नेपालकै मौलिकताप्रति पनि उनी त्यति धेरै आकर्षित छैनन् | उनले विश्वका सबै असल सिद्धान्तहरूबाट असल सार ग्रहण गरे | उनी मार्क्सवादी, प्रजातन्त्रवादी, मौलिकतावादी सबैभन्दा बढी "मौलिक मानवतावाद"का पक्षमा उभिए | उनले आफ्नो भौतिक जीवनलाई महत्व दिएर आम नेपालीहरूलाई आफ्नो एकमात्र शरीरलाई माया गर्नु पर्ने सन्देश दिए भने बुद्धलाई आदर्श मानेर "मध्यममार्ग" अवलम्बन गर्न सुझाए |

आधुनिक विज्ञान र प्राचीन सिद्धान्तकारहरूलाई जोडेर "नियमित आकस्मिकता"को बौद्धिक महल खडा गरेर बालकृष्ण समले सिद्धान्तकारको पक्तिमा आफुलाई उभ्याएका छन् | पढ्दा, सम विज्ञानका बढी नै भक्त भएको प्रतीत हुन्छ तर सेक्सपियर र बुद्धलाई सँगै उभ्याएर उनले मानवीय "भावना र चेतना"को पनि उत्तिकै सम्मान गरेका छन् | दार्शनिक दृष्टिकोणले नियमित आकस्मिकता आत्मउच्च्देदवादी वा "गङ्गा गए गङ्गाराम जमुना गए जमुनाराम" जस्तो दार्शनिक सिद्धान्त प्रतीत हुन्छ तर उनले आफ्नो बौद्धिक विश्वमा "नियमित आकस्मिकता" विश्वदृष्टिकोणको निर्माण गरेर आफु र सम्पूर्ण विश्वलाई तेससँग जोडे | यस्तो खूवी सिद्धान्तकारमा मात्र हुन्छ, सबैमा हुँदैन |

नेपाली प्रगतिवादले समलाई आफ्नो ठान्दैन किनभने उनी मार्क्सवादीको परिचयबाट टाढा रहे | समाजवादीहरू पनि बालकृष्ण समलाई आफ्नो ठान्दैनन् किनभने उनी "सैद्धान्तिक समाजवाद" भन्दा व्यावहारिक समाजवाद "सम"को बाटो रोजे | नेपाली धार्मिक वृत्तले पनि बालकृष्ण समप्रति अपनत्व ग्रहण गर्दैनन् किनभने उनले धर्म र धार्मिकतासँग जोडिएका अन्धविश्वासहरूको कटु आलोचना गरे, आफूलाई नास्तिकको कित्तामा उभ्याए | 

बालकृष्ण समले धर्मबाट जिसस क्राइस्टलाई बोक्नुको सट्‍टा बुद्धलाई अपनाए | किनभने बुद्धले सधैँ सहअस्तित्वको वकालत गरे | बालकृष्ण समले अपनाएका पँजली धार्मिक गुरु होइनन् | उनी भौतिक स्वास्थ्य र मानसिक स्वास्थ्यका अभियन्ता हुन् जसले मानव-समाजलाई स्वास्थ्य रहने सीप सिकाए | फ्राइडले आम मान्छेको मानसिकता प्रदर्शित गर्छन् जुन प्रवृत्तिले गर्दा मान्छेको संसार पुस्ता पुस्तामा अगाडी बढ्छ | स्वास्थ्य जीवन पतंजलीबाट, कल्पनाशील विचार सेक्सपियरबाट, दु:ख नरुचाउने चेतना बुद्धबाट र सृष्टिको निरन्तरताको पाठ फ्रायडबाट लिएर समले "नियमित आकस्मिकता" गढे |

बालकृष्ण समको दृष्टिकोणमा विश्व, चेतना, मानव समाज र यसको प्रगति विकास र विनाश सबै "नियमित आकस्मिकता" गणितीय सूत्रमा सुनिश्चित छन् | यदि ईश्वर छ भने त्यो पनि नियमित आकस्मिकताको कारण छ र छैन भने पनि नियमित आकस्मिकताकै कारण छैन - भन्ने समको विचार निकै क्रान्तिकारी छ | बालकृष्णको नियमित आकस्मिकता दार्शनिक रूपमा पूर्वनिर्धारित अनिवार्य शक्तिहरू जसले मानवीय सङ्कल्प स्वतन्त्रतालाई अस्वीकार गर्छ तर पनि यो दैवी सिद्धान्त र भौतिकवादी सिद्धान्तहरूजस्तो कठोर छैन | दैवीहरूले भौतिकवाद र भौतिकवादले दैवीवादको निराकरण गर्छन् तर नियमित आकस्मिकताले आकस्मिक नियमिततामा भर पर्छ | 

-हाम्रो समाजले "सिद्धान्तकार" बन्ने  आत्मविश्वास गुमाइसकेको छ | दुर्भाग्यवस हाम्रा विश्वविद्यालयहरूले "तिमीहरू सिद्धान्त विनिर्माण गर्न सक्दैनौ | सिद्धान्त निर्माण गर्ने काम र क्षमता अक्सफोर्ड, क्यम्बिजहरूसँग छ वा मार्क्स-इंगलहरूसँग छ" भन्ने आत्मअवमूल्यन गर्ने शिक्षा प्रदान गरिरहेको परिवेशमा बालकृष्ण समले "नियमित आकस्मिकता"को विनिर्माण गरे | नेपालीमात्र होइन, यो दक्षिण एसियाली क्षेत्रका लागि गौरवको विषय हो | भारतीयहरूले वैदिक पुनर्जागरणका पक्षमा स्थापित सिद्धान्तहरूको समसामयिक व्याख्या गरेका छन् | केहीले पुनर्व्याख्यालाई अस्वीकार गरेका छन्  | तर बालकृष्ण समले पुराना र नया, त्यो पनि पूर्वर पश्चिम दुवैतिरबाट ग्रहण गरेर "नियमित आकस्मिकता" बनाएका छन् | 

बालकृष्ण सम नवीनतम दार्शनिक सिद्धान्तका नेपाली प्रतिपादक हुन् | हामीले गौरव गर्नुपर्छ |

कमेन्ट लोड गर्नुस