मोहना नदीको राजघाट क्षेत्रमा दोहन रोक्न निर्देशन
धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्षमा चार नदीबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्रीका लागि ठेकका गरेको छ। नगरपालिकाले मोहना, मछेली, बनारा र बन्ड खोलाबाट नदीजन्य पदार्थ सङ्कलन तथा बिक्रीका लागि ठेक्कामा दिएको हो।
वातावरणीय प्रभाव मूल्याङ्कन गरेर नगरपालिकाले चार करोड ५० हजारमा चार नदीको सगरमाथा कन्स्ट्रक्सनलाई ठेक्का दिएको हो। तर, मोहना नदीमा भने ठेक्का पाएको कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत नदीजन्य पदार्थको सङ्कलन तथा बिक्री गर्दै आएको फेला परेको छ। मोहना नदीको राजघाट पुल क्षेत्रमा मापदण्ड विपरीत नदीको दोहन भएको हो। जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुषालले मोहना क्षेत्रमा मापदण्ड विपरीत नदीबाट बालुवा सङ्कलन हुँदै आएको फेला परेको बताए। उनले भने, ‘मानिसबाट उठाएका हुन्। मेसिनहरू प्रयोग भएका छैनन। तर, मापदण्ड विपरीत थियो। पुलको नजिकबाट उठाएकाले रोकेका छौ।’
कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने मोहना नदीको राजघाट पुल क्षेत्रमा नदीको दोहन भएको हो। उक्त क्षेत्रमा पुल नै जोखिममा पार्ने गरेर नदीजन्य पदार्थको उत्खनन हुँदै आएको छ। कैलाली र कञ्चनपुरको संयुक्त अनुगमन समूहले उक्त क्षेत्रका हुँदै आएको उत्खनन बन्द गरेको छ। पुल क्षेत्रबाट उत्तरमा पाँच सय मिटर र दक्षिणमा एक किलोमिटर भित्रबाट नदीजन्य पदार्थ सङ्कलन नगर्न भनिएको हो। ‘आइइ गरिएको छ। तर, पुल क्षेत्रमा लोकेशन छैन। त्यो क्षेत्रबाट ननिकाल्न भनेका छौ,’ भुषालले भने।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, जिल्ला समन्वय समिति कैलालीका प्रमुख खगराज भुषाल, कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती राना, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी ध्रर्मेन्द्र मिश्रसहित प्राविधिकहरूको संयुक्त टोलीले मोहना नदीको स्थलगत अनुगमन गरेका छन्। संयुक्त अनुगमन टोलीले मोहना नदीको राजघाट क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थको उत्खनन हुँदै आएको फेला पारेको हो।
कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा नदीबाट अवैध उत्खनन गर्ने सवारीका धनीहरूलाई कारबाही गरिएका बेला कैलाली र कञ्चनपुरका सरोकारवालाको टोलीले नदीको स्थलगत अनुगमन गरेको हो।
कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा पर्ने मोहना नदीको राजघाटमा नदीजन्य पदार्थको अवैध दोहन हुँदै आएको फेला परेपछि बन्द गर्न निर्देशन दिइएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ र कृष्णपुर नगरपालिका वडा नम्बर ९ को सीमानासँग जोडिएको सो नदीबाट वातावरणीय प्रभाव मूल्याङ्कन विपरीत मनलाग्दी रूपमा उत्खनन हुँदै आएको भन्दै काम रोक्न भनिएको हो। मनोमानी मोहना नदीबाट बालुवा सङ्कलन गरे राजघाटको पुल जोखिममा पर्ने भन्दै दोहन बन्द गर्न निर्देशन दिइएको छ।