सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा साना किसान कृषि सहकारीको आतंक, घरमै आएर दुर्व्यवहार

२०८० माघ २४, १०:२२ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाको मुक्त कमैया टोलमा साना किसान सहकारी संस्थाले आतंक मचाएको गुनासो गरिएको छ।

अत्तरिया दुर्गा मन्दिर पछाडि कार्यालय रहेको सहकारीले सर्वसाधारणलाई सजिलै ऋण लगानी गर्ने तर व्याज र किस्ता असुल गर्दा ज्यादती गर्ने गरेको खुलेको हो। साना किसान सहकारीका प्रवन्धक र अन्य कर्मचारीले सर्वसाधारणको चेक आफैं साट्ने, जबरजस्ती जग्गाको कागज बनाउन लगाउने मात्र नभएर महिलाहरूलाई हातपात, गालीगलौज र अभद्र व्यवहार गर्ने गरेको स्थानीय आरतीदेवी चौधरीले गुनासो गरिन्। 

साना किसान सहकारीबाट दुई लाख ऋण लिएकि थिए। ४० हजार चुक्ता गरिसकेपछि बुढा बिरामी प¥यो। पसल चलाउन सकिएन। उपचारमा पैसा खर्च हुनथाल्यो। सहकारीका हाकिम र महिला कर्मचारी घरमै आएर तनाव दिन थाले’, उनले भनिन्, ‘गत असार अन्तिम हप्तातिर सहकारीका कर्मचारी आएर हातपात गरे।

मेरो घाँटी अठ्याएर पैसा राख भन्न थाले।’ धनगढी उपमहानगरपालिका–१३ मुक्तकमैया टोलकी आरती साना किसान सहकारीबाट एक्ली पीडित भने होइनन्। उनीजस्ता अन्य ऋणीलाई पनि सहकारीले ज्यादती गरेको गुनासो छ। गाउँकी सुमिता चौधरी घरमा छैनन्। उनी साना किसान सहकारीको आतंक सहन नसकेर भारत पलायन भएकी छिन्। 

यस्तै, सोही टोलकी पार्वती चौधरी साउदी अरब गएकी छिन् भने आयुषा चौधरीले अर्कैसँग दोस्रो बिहे गरेर गाउँ छोडेकी छिन्। यिनीहरू तीनै जनाले साना किसान सहकारीको ज्यादती खप्न नसकेर गाउँ छोडेको स्थानीयले बताए। यसैगरी सोही ठाउँकी अनितादेवी चौधरीले साना किसान सहकारीको ऋण तिर्न जग्गा बिक्री गर्नुपरेको छ। २०७६ मंसिर २७ गते बंगुर पालन गर्ने भनेर अनितादेवीले साना किसान सहकारीबाट २ लाख ऋण लिएको बताएकी छिन्। 

सहकारीको ऋण तिर्न अनितादेवीले जग्गा बिक्री गर्छिन्। जग्गा खरिदकर्ताले अनितादेवीलाई ६÷६ लाखका दुई चेक दिन्छन्। उक्त चेक साट्न बैंक जाँदा नागरिकता चाहिने भनिन्छ। अनितादेवीको नागरिकता भने साना किसान सहकारीमा हुन्छ। सहकारीमा नागरिकता माग्न जाँदा सहकारीका प्रवन्धकले नागरिकता दिन नमिल्ने बरू आफैं चेक साटेर रकम बैंक खातामा जम्मा गर्ने बताउँछन्। 

अनितादेवीले प्रवन्धको भने अनुसार दुबै चेक सहकारीलाई नै साट्न मन्जुरी दिन्छिन्। तर, सहकारीले चेक साटेर अनितादेवीको मात्रै ऋण असुल गरेन उनकी विवाहित छोरीको ऋणसमेत जबरजस्ती असुल गरेको गुनासो गरिएको छ। सहकारीले धम्की दिएर छोरीको ऋण आफूबाट असुल गरेको अनितादेवीको भनाइ छ। ‘हामीबीच जबरजस्ती पैसा असुल गरियो। छोरीको ऋण महिनाको १० हजारका दरले चुक्ता गरौंला भन्दा पनि जग्गा बिक्री गरेको पैसाबाट तिर्न बाध्य बनायो’, अनितादेवीले रुँदै गुनासो पोखिन्।

२०७६ मंसिरमा निकालेको २ लाख रुपैयाँको २०८० पुस २५ मा अनितादेवीबाट सहकारीले एक लाख ३८ हजार ३७२ रुपैयाँ ४८ पैसा व्याज मात्रै असुल गरेको छ। सावाँ दुई लाख र व्याज एक लाख ३८ हजार ३७२ रुपैयाँ असुल गरेर बाँकी ८ लाख ६१ हजार ६२८ रुपैयाँ अनितादेवीले पाउनुपर्ने सहकारीले पाँच लाख ७४ हजार ६५५ रुपैयाँ मात्रै फिर्ता दिएको अनितादेवीको गुनासो छ। छिमेकी र वडा अध्यक्षलाई गुहार्दा पनि सहकारीका प्रवन्ध नृप खड्काले आफ्नो पैसा फिर्ता नदिएको अनितादेवीको गुनासो छ।

साना किसान सहकारीबाटै अनितादेवीकी विवाहित छोरी सुनिता डगौराले पनि दुई लाख ऋण लिएका कारण अनितादेवीलाई उनकी विवाहित छोरीले आफूखुशी लिएको ऋण सहकारीले जबरजस्ती आमाबाट असुल गरेको छ। अनितादेवीबाट सुनिता डगौराले सहकारीलाई तिर्नुपर्ने दुई लाख ८३ हजार ९७३ रुपैयाँ २६ पैसा पनि जबरजस्ती असुल गरिएको गुनासो अनितादेवी चौधरीको छ।

साना किसान सहकारीले ऋण उठाउन सर्वसाधारणलाई ज्यादती नगरेको सहकारीका प्रवन्ध नृप खड्काले बताए। उनले सहकारीमा सर्वसाधारणको बचत राखिएकाले त्यो लगानीपछि कर्मचारीका रुपमा लगानी उठाउने कर्तव्य पूरा गरेको बताए। अनितादेवीले आफूखुसी छोरीको पैसा तिरेको खड्काले बताए। उनले भने, ‘हामीले जबरजस्ती कसैसँग गरेका छैनौँ। अनितादेवीले आफैं छोरीको ऋण तिर्नुभएको हो।

अन्य महिला कसैसँग पनि दुर्व्यवहार गरेको भन्ने कुरा गलत हो।’ सहकारीका प्रवन्ध खड्काले समूहका सदस्या कसैलाई पनि अनावश्यक दबाब नदिएको दाबी गरे पनि साना किसान सहकारीबाट ऋण लिएका श्रीलंकाको मुक्त कमैया टोलका अधिकांश महिलाले सहकारीका कर्मचारीहरूले घरमै आएर दुर्व्यवहार गर्ने, हातपात गर्ने, जग्गाको कागज गर्न लगाउने गरेको गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस