सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य जारी

२०७६ वैशाख ३०, ०६:५८ नवराज पनेरु

बैशाख २२ गतेदेखि सुरु भएको धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य जारी राखिएको छ। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य जारी रहेको हो। अहिले मुख्यगरी धावन मार्गको काम भईरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवन्धक तथा धनगढीमा निर्माण आयोजनाका प्रमुख रत्नवहादुर श्रेष्ठले बताए। 

उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले केन्द्रबाटै ठेक्का सम्झौता गरेपछि धावन मार्ग मर्मत, धावनमार्ग फराकीलो बनाउने कार्य र पार्कीङ क्षेत्र विस्तार गर्ने कार्य बैशाख २२ गतेदेखि सुरु भएको थियो। त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभीले पाएकोमा निर्माण कम्पनीले पनि १८ महिने सम्झौता भएपनि विमानस्थल एक महिना भित्रै सञ्चालन हुने गरि निर्माण गरिरहेको जनाएको छ। निर्माण कम्पनीका सञ्चालक रत्नवहादुर खड्काले कुनै अवरोध नभए जेठ २१ गते भित्रै विमानस्थल सुचारु हुने बताए।

तर त्यो भन्दा पहिले नै निर्माण सकिने सम्भावना भने निकै न्यून रहेको उनले बताए। अहिले पुर्वपश्चिम राजमार्ग हुँदै अत्तरिया–मोहनापुल ६ लेन सडक भएर निर्माण सामाग्री ल्याउनुपर्दा समस्या भईरहेको उनले बताए। धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले समस्या भईरहेको हो। धनगढी विमानस्थल र निर्माण कम्पनीले भने धनगढी– खुटीया खण्ड भएर निर्माण सामाग्री ल्याउन दिए निकै सहज हुने दावी गरेका छन्। 

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ। यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। चालुआर्थिक बर्षमा धवनमार्ग वृद्धि, दमकलको सुविधा थप, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको काम अगाडी वढिरहेको प्राधिकरणको दावी रहेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस