सुदूर नेपाललाई विश्वसँग जोड्दै

उखु तस्करी गर्न सीमा क्षेत्रमै बस्यो बैठक, विरोध गर्नेका ‘खुट्टा भाँचिने’

२०८० माघ २३, ०२:५३ कमल सावद

धनगढीः कञ्चनपुरमा उखु तस्करसहितको बैठक सीमा क्षेत्रमा बसेको छ।

कञ्चनपुरको सीमा क्षेत्रबाट रातिको समयमा उखु तस्करी गर्दै आएकाहरुको बैठक सीमा क्षेत्रमा बसेको हो। भारतबाट सस्तो मूल्यमा उखु खरिद गरेर कञ्चनपुरको महाकाली चिनी मिलमा बिक्री गर्दै आएकाहरुको बैठक सीमा क्षेत्रमै घर भएका विनोद कठायतको घरमा बसेको हो। रातिको समयमा भारतबाट तस्करीको उखु भित्र्याउन नयाँ योजनासहित उनीहरुले बैठक नै राखेको विषय बाहिर आएको छ।

भारतीस सीमा सुरक्षा बल (एसएसबी) र नेपालको स्थानीय प्रशासनसँगको मिलेमतोमा उखु तस्करी हुँदै आएको आरोप छ। भारतबाट उखु नेपाल ल्याउन विनोद कठायतको घरमा बसेको बैठकमा समेत भारतीय सीमा सुरक्षा बल (एसएसबी) र सशस्त्र प्रहरी समेतको सहभागिता रहेको विषय बाहिर आएको हो। स्थानीय युवाहरुका कारण तस्करीको उखु नेपाल ल्याउन समस्या भएको विषय बैठकमा उठेको छ।

बैठकमा सहभागि एक युवाका अनुसार रातिको समयमा तस्करी रोक्ने युवाहरुका खुट्टा भाँच्नुपर्ने बैठकमा सहभागिहरुले बताएका थिए। सशस्त्र प्रहरी र एसएसबी सहभागि बैठकमा नै सुरुमा तस्करीको विरोध गर्ने स्थानीयलाई कुटपिट गरेर हात–खुट्टा भाँच्ने र पछि सबै जनाबाट पैसा उठाएर उपचार गर्ने विषय उठेको ती युवकले बताएका छन्। ‘हाम्रो गाडी रोक्नेका हातखुट्टा भाँच्ने विषय उठेको थियो। पहिला हातखुट्टा भाँच्ने पछि उपचार गर्ने विषय उठेको हो।’
स्थानीय त्रसित
नेपाल र भारतका तस्करहरुको बैठकमा विरोध गर्नेमाथि कुटपिट गर्ने विषय उठेपछि स्थानीय त्रसित छन्। उनीहरुले सोमवार महाकाली चिनी मिलसँग छलफल गरेका छन्। सीमा क्षेत्रमा रहेका विनोद कठातको घरमा भएको छलफलमा विरोध गर्ने युवाहरुका खुट्टा भाँच्ने विषय उठेकाले उनीहरुले सुरक्षाको माग गरेका छन्। सीमा क्षेत्रमा भएको तस्करहरुको बैठकमा सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समेत सहभागिता रहेको भन्दै उनीहरु झन त्रासमा छन्।

एक स्थानीयका अनुसार विनोद कठायत भन्नेको घरमा ६० जना भन्दा बढी व्यापारीहरु जम्मा भएका थिए। विनोद भन्ने गन्नाको ठुलो व्यापारी हो। सशस्त्र प्रहरी र एसएसबी पनि सहभागि थिए। विरोध गर्नेलाई भारतमा भेटे मार्ने र नेपालमा भेटिए खुट्टा भाँच्ने विषय उठेको रहेछ। खुट्टा भाँच्ने र सबै मिलेर उपचार गर्ने धम्की आएपछि हिजो साथीहरु मिलमा गएका थिए। मिलको जिएमले केही हुँदैन, हामी जिम्मा लिन्छौ भन्नु भएको छ।’ सीमा क्षेत्रमा तस्करी रोक्ने युवाहरुको तस्बिरसमेत सुरक्षित राखेका छन्। यता, महाकाली चिनी मिलमा उखुको व्यवस्थापनको काम गर्दै आएका माधव शर्माले फोन उठाएनन।
झिलमिलाबाट भारतीय उखु तस्करी हुँदै
बेलौरीबाट हुने उखुको तस्करी स्थानीयको विरोधपछि रोकिएको छ। तर, बेलडाँडी गाउँपालिकाको झिलमिलाबाट सोमवार राति पनि भारतीय उखु तस्करी भएको छ। भारतबाट तस्करीमा आयात गरिने उखु महाकाली चिनी मिलमा बिक्री हुँदै आएको छ। बेलौरीका एक स्थानीयले भने, ‘यो क्षेत्रमा रातिको समयमा हुने उखुको तस्करी रोकिएको छ।

अहिले झिलमिलाबाट उखु आउने गरेको छ। तर, बिक्री हुने महाकालीमा नै हो। जुन क्षेत्रबाट उखु आएपनि महाकालीमा नै बिक्री हुन्छ।’ बेलौरीबाट एक रातमा हुने २ सय ट्रली उखुको तस्करी अहिले रोकिएको छ। भारतबाट दैनिक २० हजार क्विन्टल उखु बेलौरीबाट मात्र तस्करी हुँदै आएको थियो। उनीहरुले भारतबाट क्विन्टलको तीन सय २० भारुमा उखु ल्याउछन्। यता महाकाली चिनी मिलमा ६ सय ३५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस