सुदूर नेपाललाई विश्वसँग जोड्दै

१०९ घटनाबाट चार करोड ३० लाखको क्षति, तीन जनाको मृत्यु

सुदूरपश्चिममा आगलागीका घटना बढेको बढ्यै

फाइल फोटो
फाइल फोटो
२०८० माघ २३, ०१:०३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा आगलागीका घटनाबाट चार करोड ३० लाखभन्दा बढीको आर्थिक क्षति भएको छ।

आगलागीका घटना दैनिक रुपमा बढ्न थालेपछि मानवीयसँगै भौतिक क्षति समेत बढ्न थालेको हो। चालु आर्थिक वर्षको साउनदेखि माघ तेस्रो सातासम्म प्रदेशभित्र एक सय ९ वटा आगलागीका घटना घटेका छन्। ती घटनाबाट एक महिलासहित दुई पुरुषको मृत्यु नै भइसकेको छ।

आगलागीबाट १० महिलार र पाँच पुरुष गरी १५ जना घाइते भएका छन्। यस्ता घटनाबाट ६ महिनाको अवधिमा एक सय २८ परिवार प्रभावित बन्न पुगेका छन्। १० घर आंशिक र १२ घर आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको समेत पाइएको छ। साथै किसानका २७ गोठमा समेत क्षति पुगेको छ। यसबाट २५ वटा पशुचौपायामा क्षति पुगेको छ।

कुल एक सय ९ वटा आगलागीका घटनाबाट चार करोड ३० लाख ५५ हजार ४५० रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र (पीइओसी) ले संकलन गरेको विवरणमा उल्लेख छ। आगलागीका घटनाबाटै प्रदेशभित्र सबैभन्दा बढी आर्थिक क्षति पुगेको संकलित विवरणमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस