मूर्खको बुद्धि
डिलबहादुर महराः आफ्नो आङ भरी कबै मयलको थुप्रो नदेख्नेहरू ।
देख्छौँ आतुर कत्ति बात नबुझी बेकार भुक्नेहरू ।।
मौका मिल्छ जहाँ जुकासरहका छन् धेर लुट्नेहरू ।
मालीका मतियार छन् बिगबिगी आशक्त जुट्नेहरू ।।
।१।
रम्छन् दूषित फाइदानजिकमा चल्दैछ यस्तै रण ।
छन् संस्कार कताकता अगतिला देखाउँछन् दुर्गुण ।।
बेकम्मा गल बन्दछन् निहुँ मिले राम्रो कहाँ जान्दछन् ?
आफैँमात्र ठुलो सदैव असली सर्वोच्च नै ठान्दछन् ।।
।२।
बुझ्नैपर्छ चरित्र सत्य पहिले सुध्रिन्छ बानी तब ।
लाग्छन् व्यर्थ पछाडि भ्रामक बनी गर्छन् कुरा गज्जब ।।
खाली दानवतुल्य हीनमतिमा कर्तव्य भुल्दै गए ।
खेदो खन्नु शिवाय छैन अब ता मान्छे अनौठा भए ।।
।३।
जो छन् निर्मम चोर ढाँट फतुरे जाली फटाहाहरू ।
डुल्छन् श्वानसमान भूमितलमा व्याख्यान के नै गरूँ ?
अर्काको बदनामनिम्ति जहिल्यै उन्मत्त छाडा बनी ।
भुल्छन् मानवता समस्त भँडुवा बिर्सन्न कोही पनि ।।
।४।
राम्रो देख्न हुँदैन भत्भत जली बन्दै गए बर्बर ।
कालो चित्त विचार रुग्ण रहँदै औकात छन् जर्जर ।।
छन् मूल्याङ्कन सत्य खातिर सदा देख्नेहरू देख्दछन् ।
व्यर्थै मूर्खहरू प्रकाश रविको यी हातले छेक्दछन् ।।
।५।