कञ्चनपुरमा डेढ लाखको अवैध कुखुरा नष्ट
कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले अवैध कुखुरा नष्ट गरेको छ।
आज (सोमवार) बिहान बेलौरी नगरपालिका–२ को टेडुवापुरस्थित दिनापुरमा भारतबाट भन्सार छली ल्याइरहेको अवस्थामा प्रहरीले करीब तीन सय किलो अवैध कुखुरा बरामद गरेको हो।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र प्रहरी चौकी टेडुवाको संयुक्त टोलीले से ४ प १९१३ नम्बरको मोटरसाइकलमा ल्याइरहेको अन्दाजी १ लाख ४५ हजार मुल्य बराबरका कुखुरा बरामद गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। बरामद गरेका कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।