सुदूर नेपाललाई विश्वसँग जोड्दै

किसान सहकारी र ओम कृष्ण अस्पतालबीच स्वास्थ्य सहुलियत सम्झौता

२०८३ भदौ १८, ०१:२५ खबर संवाददाता

टीकापुरः कैलालीको लम्कीचुहा नगरपालिका–१ मा मुख्य कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र टीकापुर नगरपालिका–१ स्थित ओम कृष्ण अस्पताल तथा रिसर्च सेन्टर प्रालिबीच स्वास्थ्य सेवा तथा सहुलियतसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ।

सम्झौताअनुसार लम्कीचुहा र टीकापुर नगरपालिका, जानकी तथा जोशीपुर गाउँपालिका र बर्दियाको राजापुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने सहकारीका २३ हजारभन्दा बढी शेयर सदस्य तथा उनीहरूका आश्रित परिवार लाभान्वित हुनेछन्।

सहकारीका सदस्य तथा एकाघरका परिवारले अस्पतालबाट उपचार गराउँदा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्। जनरल बेड तथा क्याबिन, आईसीयू, एनआईसीयू, शल्यक्रिया, ल्याब परीक्षण, भिडियो एक्सरे, एक्सरे तथा अस्पतालको फार्मेसीबाट औषधि खरिदमा समेत सहुलियत उपलब्ध हुनेछ।

ओपीडी दर्ता तथा एमबीबीएस चिकित्सकको परामर्श शुल्क अधिकतम १५० रुपैयाँ कायम गरिएको छ भने नियमित फलो–अप परामर्श निःशुल्क हुने व्यवस्था गरिएको छ। सहुलियत लिन सदस्यले सहकारीको आधिकारिक शेयर सदस्य परिचयपत्र वा सम्बन्धित शाखाको सिफारिसपत्र पेस गर्नुपर्नेछ।

सम्झौतापछि दुवै संस्थाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर, मातृशिशु कल्याण कार्यक्रम तथा स्वास्थ्य सचेतनामूलक गतिविधि समेत सञ्चालन गरिने भएको छ।

ओम कृष्ण अस्पतालका प्रबन्ध निर्देशक कृष्णप्रसाद उपाध्यायले सहकारीका सदस्यलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनुभयो। किसान बहुउद्देश्यीय सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले सम्झौता वित्तीय सेवासँगै सदस्यहरूको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा समेत सहकारीको योगदान विस्तार गर्ने उद्देश्यले गरिएको बताउनुभयो।

हाल किसान बहुउद्देश्यीय सहकारी संस्थामा ७६ हजार ८८४ जना शेयर सदस्य आबद्ध छन्। सम्झौताको कार्यक्षेत्रअन्तर्गत भने २३ हजारभन्दा बढी सदस्य तथा उनीहरूका आश्रित परिवारले ओम कृष्ण अस्पतालबाट सहुलियतपूर्ण स्वास्थ्य सेवा पाउनेछन्।

कमेन्ट लोड गर्नुस