धनगढीमा राना परिवारको ८ बिघा जमिन मालपोत र नापीबाटै गायब!
धनगढीः कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ मा बसोबास गर्दै आएका रामचरण राना र राम सिट रानाको परिवारको जग्गा दर्ता हुँदाको विवरण बम विस्फोटमा जलेको मालपोत र नापी कार्यालयले गलत अभिव्यक्ति दिने गरेका छन्।
धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित ६ लेन सडक क्षेत्रमा ८ बिघा तीन कट्ठा जग्गा राना परिवारको अर्के व्यक्तिको नाममा दर्ता गरेका मालपोत र नापी कार्यालयका कर्मचारीले बम विस्फोटमा दर्ता हुँदाका कागजपत्र जलेको अभिव्यक्ति दिने गरेका छन्। मालपोत कार्यालय, कैलालीका प्रमुख प्रेमबहादुर दौल्यालले कागजपत्र जलेको हुन सक्ने बताएका छन्। तर, मालपोत र नापी कार्यालयमा २०१९ देखि २०३४ सालसम्म बम विस्फोट तथा आगलागी भएको तथ्य फेला परेको छैन।
जिल्ला प्रशासन कार्यालय, कैलाली र जिल्ला प्रहरी कार्यालय, कैलालीले मालपोत र नापी कार्यालयमा सो समयमा बम विस्फोट र आगलागी भएको घटनाको तथ्य नभएको बताएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बम विस्फोट तथा अन्य विपदका घटना मालपोतमा भए/नभएको अभिलेख फेला नपरेको बताए।
नापी कार्यालय र मालपोत कार्यालय कैलालीका कर्मचारीहरूले भूमाफियाहरूसँगको मिलेमतोमा राना परिवारको जग्गा किर्ते गरेर खरिद बिक्री गरेको पीडित परिवारको आरोप छ। रामचरण रानाले बाजेको नाममा रहेको जग्गा भूमाफिया र कर्मचारीको मिलेमतोमा बिक्री भएको बताए। उनले साबिकका ३५२, ३५५, ३५६, ३५७, ३५९ र ३६० नम्बरको कित्ताहरूको जग्गा किर्ते गरिएको बताए। उनले भने, ‘हाम्रो जग्गा अरूको नाममा पास भएको छ।
हरिदाशको नामबाट बिक्री भएको छ। तर, हरिदाशको नामको कागजपत्र छैन। हरिदाशको नाममा २०३४ सालमा जग्गा गएको छ। तर, हरिदाशको नाममा जग्गा कताबाट आयो कुनै कागज छैन। मालपोतमा बम विस्फोट हुँदा जलेको भन्छन्।’ जग्गा दर्ता हुँदाको समयमा रहेका सबै कागजपत्र बम विस्फोट हुँदा जलेको बताएका मालपोत र नापीका कर्मचारीहरूले झुट बोल्ने गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, कैलाली र जिल्ला प्रहरीमा जग्गा दर्तादेखि नामसारी हुँदाका समयसम्म नापी र मालपोतमा बम विस्फोट भएको कुनै विवरण फेला परेका छैनन्। तर, मालपोत र नापी कार्यालयले पटक–पटक बम विस्फोट र आगलागीबाट जग्गा दर्ता हुँदाको समयका कागजपत्र जलेको प्रतिक्रिया दिएका छन्। २०१९ सालसम्म सरकारलाई कर बुझाएका राना परिवारको जमिनको कुनै अत्तोपत्तो छैन।
वि.स १९९०, २०११, २०१३ र २०१९ सालमा स्वर्गीय चिमाडी राना थारूले ८ बिघा तीन कट्ठा जमिनको कर श्री ५ को सरकारलाई बुझाएका बिलहरू राना परिवारसँग छन्। नातिहरू राम चरण र राम सिटले मालपोत कार्यालय कैलालीमा २०७९ चैत ८ गते पेस गरेको निवेदनमा २०१९ सालसम्म श्री ५ को सरकारलाई तिरो तिरेको बिलहरू सुरक्षीत रहेको भनिएको छ। सरकारले २०२१ सालमा जग्गाको सर्भे गरेको थियो।
नापी कार्यालयको फिल्ड बुकमा समावेश नभएको राना परिवारको जग्गा २०३४ सालमा हराएको पाइएको छ। अन्सारी रानाले धनगढीको बोराडाडीबाट कञ्चनपुर बसाइ सरेको बताए। लालझाडीमा बाढी आएको समयमा जग्गाको तिरो तिरेको कागजपत्र फेला परेको उनले बताए। उनले भने, ‘बाजेको नाम चमारी हो। तर, चमारुको नामबाट नामसारी भएको देखिन्छ। हामीसँग अकडा फारम छ। तिरो तिरेको बिलहरू छन्।
तर, मालपोत र नापीका कर्मचारीहरूले बमले जलेको भन्दै आउनुभएको छ। बमले हाम्रो मात्र कागज कसरी जले? अरू कसैका पनि जलेका छैनन। बाजेले तिरो तिरेको जमिन हामीहरूले पाउनुपर्छ।’ पुरानो कित्ता नम्बरहरू किर्ते गरेर हरिदास रानाको नामबाट सिद्धराज उप्रेतीको नाममा जग्गा गएको छ। उप्रेतीको नाममा २९ कट्ठा जग्गा मात्र नामसारी गरिएको छ। हरिदास राना भारतीय नागरिक रहेको दाबी गरिएको छ।