सुदूर नेपाललाई विश्वसँग जोड्दै

माघ सोह्रमा छुटेका 'शहिद'हरु

२०८० माघ २०, ०१:२०

देव डाँगीः
(सोह्र वर्ष अघि)
मौसमले 'जाडो' हो भन्थ्यो। तर चुनावले 'हैन गर्मी हो' भन्थ्यो। ओहो चुनावको सरगर्मी!
'यो मेरो पकड क्षेत्र हो!' — बुमबहादुर  कड्किए।
'हो हजूर' भन्ने आसयोक्तीमा आँगनभरि पहरा दिइरहेका पुलिस तनक्क तन्किए। केटाहरुलेपनि आफूसँग भएका  हतियार यसो उसो मिलाए। हतियार नहुनेले चारवटा तारा निधारमा पर्नेगरि फेटा टमक्क बाँधे।
छोट्काले भकाभक् चिया टक्राईरहेको थियो। प्लाष्टिकका कप नहुने बेलाको कुरो। चौबिसवटा गीलासले चौसट्ठी जनालाई चिया ख्वाउने काम। अहो ! छोट्कोको हतारो। 'पकड क्षेत्र' भनेको सुन्दा ऊ टक्क रोकियो। आफ्नो छोरोले लोकसेवा तयारी गर्दा चिच्याई- चिच्याई पढेको सुनेको थीयो — 
जुनारको पकड् क्षेत्र — सिन्धुली हो।
कोइलाको पकड् क्षेत्र — दाङ हो।
अदुवा र मौसमको पकड् क्षेत्र — सल्यान हो।
मार्सी धानको पकड् क्षेत्र — जुम्ला हो।
तोरीको पकड् क्षेत्र — चितवन हो।
तर खड्काले इंगीत् गरेको पकड क्षेत्र उसले बुझेन। अहँ ! मरिगए बुझेन।
उता एक दशक जंगल बसेर पहिलोपल्ट चुनावमा होमिएको पार्टीले तृष्णजीतलाई बुमबहादुरको बिरुद्धमा उठाएको थियो । तृष्णजितलाई पनि पर्सनल्ली त्यो ईलाका बुमबहादुरकै पकड हो भन्ने लाग्थ्यो। बाहिर भन्न पो नमिल्ने तर भित्रभित्रै मान्छे नमारी चुनाव जित्न नसकिने  तृष्णजितले बुझिसकेका थिए। सारा जीवन माछा मारेजस्तै मान्छे मारेका भएपनि चुनावमा मान्छे मार्ने काम सजिलो थिएन। र, मान्छे नमरे चुनावी नतिजा अप्ठेरो हुनेवाला थियो।
एक दशकमा त —
-ट्रकको खलासीले समेत दाउन्नेको उकालोमा गुरुजीले बुरुस गर्नेबेला स्टेरिङमा हात लगाउने मौका पाउँछ।
- बहरलेपनि चारै मौसम चारैबाली जाने बारीको पाटो चारचोटि जोतिसकेको हुन्छ।
- सिपाही हल्साप भैसक्छ।
- कुकुरको छाउरो त जन्मेर पनि मर्ने बेला भैसक्छ।
'अनि  दस बर्ष जनयुद्ध गरेर म सांसद हुन सक्दिन?' प्रश्नको संसय तृष्णजितको थियो तर उत्तर बनेर आफ्ना ज्यान फाल्न  वरिपरि सप्पै तयार थिए। सबैले निधारमा रातो फेटा बाँधे। बसको छतमा चढे। जोडले बुमबहादुरको पार्टीलाई मुर्दावाद् भने। अझ जोडले आफ्नो पार्टीलाई जीन्दावाद् भने।
तिनेर्को फेटामा गोलाकारभित्र हँसिया हथौडा थियो।
तेह्र किलोमिटर भित्र एक्कैदिन भएको यो घटनाले एक अर्कालाई छल्दै हिड्नूपर्नेमा जोतिंदै हिड्ने निधो गरे। भाला बर्षा तेर्स्याउँदै तृष्णजितको टोली पश्चिम हानियो। बुमबहादुरको टोली पूर्व।
बिचौबिच आइपुग्दा टलल भाला बर्षा टल्किए। खतरा आफ्नै आँखाअघि आयो। कारगर रेन्जमा आइनपुग्दै पश्चिमबाट  गोली पूर्व सुरुर- सुरुर गर्दै हुइँकियो। पश्चिम हुँइकिएका बसका छतबाट मान्छे खसे। छतबाट चैतको हुरिले सुकाएका लुगा झारेझैं गोलीले मान्छे झार्यो। सोत्तर पार्यो।
बोटबाट कोया नलागेका आँप झरेझैं सर्लल्क सर्लक्कका मान्छे झरे। ठ्याक्कै छोट्काको कान्छो छोराकै उमेरका। सत्र अठार बर्षका। लासहरु राजमार्गमा थुप्रो लागे।
यू टर्न गरेर बुमबहादुर पश्चिम फर्कीए। तृष्णजित त्यै रोकिए। एकाध घन्टा सन्नाटा छायो। हवा पनि रोकियो। रुखहरु हल्लिन छोडे। झिंगा भन्किसकेका चारवटा मान्छे बाहेक बाँकी सग्लामान्छे उठे। उठेर तिनले उठ्न नसक्नेलाई काँध हाले। अब कहिल्यै उठ्न नसकेका ती चारजनाको जिम्मेवारी सबैभन्दा ठूलो भएर आयो। भोट हाल्ने चार दिन बाँकी थ्यो। चारै दिन ती ढलेका मान्छेलाई काँधमा लिएर तृष्णजित चुनाब प्रचारमा निस्किए। गाँउ गाउँ पुगें।
खासमा मान्छेको जिजिविषा आशामा अडेको हुन्छ तर तृष्ण जितले लासमा हुन्छ भन्ने प्रमाणित गर्दिए। आफ्नो भिंडलाई अरुको भिंडले मराउने मास्टरप्लानमा पास भए। उनले चुनाव जिते। चार दिनदेखि मान्छेका काँध चढिरहेका चारवटा शवलाई तृष्णजितले मुड्की उज्याएर सलाम गरे। ती अमूक शवलाई चुनाव जीताइदिएकोमा उनले अनुग्रहित् भाव प्रस्तुत् गरे।
भीडले 'अमर शहिद जीन्दावाद्' भन्यो।  यो आवाज पर राप्ती पारीमा भीत्तामा ठोकिएर फेरि फर्केर 'जीन्दावाद' भन्थ्यो। यस्तो लाग्थ्यो अब यो ठाउँमा शहिदहरुको नाम कहिल्यै नमेटिनेगरि गुन्जीरहनेछ।
सत्ताइस हजार मत ल्याएका तृष्णजित गर्जिए— 'यो अब हाम्रो पकड क्षेत्र हो, अब शहिदको सपना म पूरा गर्छु,
छोड्कोलेपनि त्यो भाषण सुन्यो। उसले कक्कड् माड्यो र भन्यो — 'सस्सुर! यो पो हो पकड क्षेत्र भनेको? 
(सोह्र वर्षपछि) —
चारगाउँका चारजना मरेका हुनाले अहिलेपनि — कुन गाउँमा शहिद गेट बनाउने टुङ्गो छैन।

कमेन्ट लोड गर्नुस