सुदूर नेपाललाई विश्वसँग जोड्दै

ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो

२०८० माघ २०, १०:५६ खबर संवाददाता

ताइवानमा माघ १९ गते सम्पन्न भएको ताइवान ईन्टरनेशनल साइन्स फेयरमा नेपालले इन्जिनियरिङतर्फको विधामा चौथो स्थान हासिल गर्न सफल भएको।

यही माघ १४ देखि १९गतेसम्म भएको उक्त अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्न गएका हेटौँडाका कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाश्वत बाइवाको कृषि–प्रविधिमा आधारित ’एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको हो।

गणित, रसायन शास्त्र, ईन्जिनियरिङलगाएतका फरक फरक १३ वटा विधा समेटिएको उक्त प्रदर्शनी मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगायतका २७ भन्दा बढी देशहरूका राष्ट्रियस्तरवाट छनोट भएका उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थीहरुको सहभागिता रहेको थियो।

२०वर्षभन्दा कम उमेरका उच्चशिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नव प्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उदेश्यका साथ हरेक वर्ष ताईवानको सूचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले उक्त विज्ञान प्रविधि मेलाको आयोजना गर्दै आइरहेको छ।

विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरूलाई प्रदर्शन गराइने यस प्रदर्शनी मेलामा यस वर्ष ६३० जना विद्यार्थी अनुसन्धान कर्ताहरूद्वारा ३५९ वटा विज्ञान, सूचना–प्रविधि ,नवप्रवर्तनसम्बन्धि अनुसन्धानका प्रोजेक्टहरू प्रदर्शनीमा राखिएको थियो। जहाँ ५४ वटा अन्तर्राष्ट्रिय ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरू समावेश गरिएका थिए।

कमेन्ट लोड गर्नुस