यु–१९ विश्वकप क्रिकेटमा भारतद्धारा नेपाललाई २९८ रनको लक्ष्य
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई जितको लागि दुई सय ९८ रनको लक्ष्य दिएको छ।
माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो। भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेले। सचिनले एक सय १६ रन बनाउँनेक्रममा एक सय एक बलमा ११ चौका र तीन छक्काको हाने। उदयले सय रन बनाए। उनले एक सय सात बलमा नौ चौकाको सहयोगमा शतक बनाएका हुन्।
यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाए। बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिए। नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो।
सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ। भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ।