अत्तरियाको दोहोरी साँझमा विवाद प्रकरणः देउवाको मृत्यु रहस्यमै
धनगढीः कञ्चनपुरका एक युवकको गत पुसमा रहस्यमय मृत्यु भयो।
पुस २५ गते कैलालीको अत्तरियास्थित दोहोरी साँझमा विवादपछि भएको ती युवकको मृत्यु प्रकरण अहिलेसम्म रहस्यमै छ। घटनाको विभिन्न कोणबाट प्रहरीले अनुसन्धान गर्दै आए पनि मृत्युको ठोस कारण भने अझै पत्ता लाग्न सकेको छैन्। घटना भएको एक महिना पुग्नै लाग्दा समेत अनुसन्धान जारी नै छ। प्रदेश, जिल्ला र इलाका प्रहरीसँगै घटनाको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) समेत अनुसन्धान गरिरहेको छ।
प्रहरी केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी निरीक्षक गणेश जैसीको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ। प्रदेश, जिल्लासँगै इलाका प्रहरी कार्यालय मालाखेतीले समेत घटनाको अनुसन्धानमा गरिरहेको डीएसपी गणेश बरालले बताए। पुस २५ गते राति अत्तरियाको न्यू सत्कार दोहोरी साँझबाट विवाद भएर निस्किएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु प्रकरणमा अनुसन्धान तीब्र पारिएको छ।
घटनाको सिआइबीको टोलीसहित प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक नरपति भट्ट नेतृत्वको विज्ञ टोली, आरआइटी सुदूरपश्चिमको टोली लगायतले अनुसन्धान गरिरहेका छन्। आफन्तले सो घटनालाई हत्या भन्दै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्। प्रहरीले नियन्त्रणमा लिएका ६ जना आरोपितहरुको पोलिग्राफ परीक्षण समेत गरिसकेको छ।
पुस २५ गते राति साथीसँगै अत्तरियामा रहेको न्यू सत्कार दोहोरी साँझमा गएका देउवा त्यहाँ भएका अन्य व्यक्तिसँग विवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। देउवा भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा अर्धचेत अवस्थामा फेला परेका थिए। युवकको शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी पुगाएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको हो।
देउवाको मृत्यु भएपछि हत्या गरिएको भन्दै उनीसँगै गएका ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएका थिए। कैलाली प्रहरीले टेकबहादुर नायकसहित गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षीय प्रकाश ओली, वडा नम्बर १ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ का ३८ वर्षीय रामबहादुर ऐरलाई नियन्त्रणमा लिएको थियो। आरोपितहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ।