सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा उपाधिका लागि पुलिस र आर्मीबिच भिडन्त

२०८० माघ १८, ०५:४१ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुने भएको छ।

बिहीवार लिग चरणको खेल समाप्त भएसँगै पुलिस र आर्मी प्रतियोगिताको फाइनलमा पुगेका हुन्। प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुने छ। लिग चरणको समाप्तिपछि अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान रहेको थियो। प्रतियोगितामा सहभागी १० वटै टोलीले लिग चरणमा नौ–नौवटा खेल खेलेका थिए।

पुलिस क्लब आफूले खेलेका नौमध्ये सबै खेलमा विजयी भयो। लिग चरणको अन्तिम दिन बिहीवार भएको आफ्नो अन्तिम खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७८ रनले हरायो। तालिकामा पहिलो हुने क्रममा पुलिस क्लबले कुल १८ अंक बटुल्यो। आर्मी क्लबले भने आफूले खेलेका नौमध्ये सात खेलमा सफलता हात पा¥यो।

दुई खेलमा आर्मी क्लब पराजित भयो। आर्मी क्लबले लिग चरणको अन्तिम दिन बिहीवार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हरायो। तालिकामा दोस्रो हुने क्रममा आर्मी क्लबले १४ अंक बटुल्यो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि बागमती प्रदेश र मधेस प्रदेश भने थोरै अन्तरले मात्र उपाधि होडबाट बाहिरिन पुगे।
 

कमेन्ट लोड गर्नुस