सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा प्रशासनको मिलेमतोमा भारतबाट उखु तस्करी हुँदै

तस्करीमा प्रयोग हुने भारतीय ट्रलीहरु
तस्करीमा प्रयोग हुने भारतीय ट्रलीहरु
२०८० माघ १७, १०:४९ कमल सावद

धनगढी : भारतबाट तस्करीको उखु आयात हुन थालेपछि माघ ६ गतेदेखि कञ्चनपुरको बेलौरीका स्थानीयले विरोध गरे। दैनिक २ सय ट्रली उखु भारतबाट तस्करी हुँदै आएको भन्दै उनीहरूले विरोध गरेका हुन्।

तर, स्थानीयले विरोध थालेको आठौँ दिनमा प्रहरीले चार जना युवालाई नियन्त्रणमा लिएको छ। बेलौरी नगरपालिका वडा नम्बर १० का चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि अहिले आन्दोलन तुहिएको छ। एक स्थानीका अनुसार भारतबाट रातिको समयमा तस्करीको उखु कञ्चनपुरका चिनी मिलहरूमा आउने गरेको छ। उनले भने, ‘रातिको समयमा पनि चिनी मिलहरूमा काम हुन्छ। नेपाली किसानहरू दिउसो आउनु हुन्छ। तर, रातिको समयमा भारतबाट तस्करीको उखु आउछ। चिनी मिलका माधव शर्माले प्रशासन र व्यापारीसँग मिलाएर रातिको समयमा भारतबाट उखु ल्याउने गर्नुभएको छ। सात दिनसम्म बन्द गरेका थियौ। आठौँ दिनमा हाम्रा साथीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। अहिले फेरि भारतबाट उखु आउने गरेको छ।

कञ्चनपुरमा भारतबाट दैनिक २ सय ट्रली तस्करीको उखु भित्रिदै आएको छ। एक ट्रलीमा एक सय क्विन्टलसम्म उखु हुने गरेको छ। भारतबाट दैनिक २० हजार क्विन्टल तस्करीको उखु आयात हुने गरेको आशङ्का स्थानीयको छ। स्थानीय प्रशासनको मिलेमतोमै व्यापारीहरूले भारतबाट तस्करीको उखु ल्याउने गरेको स्थानीयले बताए। उनले भने, ‘नेपाली नम्बरका ट्याक्टर हुन्छन। तर, धेरै ट्रलीहरू भारतीय हुन्छन। चार चक्काको ट्रलीहरू हुन्छन। प्रहरीमा जानकारी गराउदासमेत नियन्त्रण भएको छैन। कारण मिलेमतो नै हो। हामीहरूले रोक्ने प्रयास गरेका थियौ। तर, हाम्रा साथीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूका विरुद्धमा मुद्‍दा चलाउने योजना बनायो। यता २० जना व्यापारीहरू छन्। उनीहरूले प्रशासन, मिल र भारतीय व्यापारीसँग मिलेर रातिको समयमा गन्ना ल्याउदै आएका छन्।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको चिनी मिलहरूमा अवैध उखु विक्री हुने गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र व्यापारीसँगको साठगाँठमा भारतबाट तस्करीको उखु आयान हुँदै आएको स्थानीयको आरोप छ। तर, यस विषयमा स्थानीय प्रशासन भने मौन छ। एक स्थानीयले भने, ‘हामीलाई तपाइहरूसँग कुरा गर्नु पनि डर छ। व्यापारीहरू तस्कर छन्। उनीहरू चिनी मिल, प्रहरी र भारतीय तस्करहरूसँग मिलेका हुन्छन्। चिनी मिल आफैले भारतबाट ल्याउने होइन। यताको व्यापारीहरूले पारिकासँग मिलेर ल्याउने हुन। रातिको समयमा भारतीय गन्नाको मात्र कारोबार हुन्छ। नेपाली किसानहरू दिउसोको समयमा आउछन्। भारतबाट क्विन्टलको तीन सय २० भारुमा ल्याउछन्। यता ६ सय ३५ रुपैयाँसम्म रहेको छ। व्यापारीहरूले एक करोडसम्म एक सिजनमा आम्दानी गर्छन।

उखु तस्करीको विषयमा विरोध गर्ने स्थानीयहरूलाई भने उल्टै प्रहरीले पक्राउ गरेपछि अहिले निर्बाध रूपमा भारतबाट उखु आउन थालेको छ। सोमवार राति पनि भारतबाट ठुलो परिमाणमा तस्करीको उखु आयात भएको छ। तर राजस्व छली गर्न नहुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी बताउछन्। उनले बेलौरीमा भएको घटनाको विषयमा जानकारीसमेत नभएको प्रतिक्रिया दिए। उनले भने, ‘स्थानीयहरूलाई पक्राउ गरेको विषयमा जानकारी छैन। म बिदामा पनि थिए। स्थानीयले रोक्ने पनि होइन। उहाँहरूले सूचना दिने हो। सूचना दिदा पनि नरोकिएपछि मात्र हो।प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले रातिको समयमा भारतबाट उखु ल्याउन गैरकानुनी भएको बताए। उनले भने, ‘पारीबाट उखु ल्याउन मिलदैन। भन्सार तिरेर ल्याउन मिलछ। तर, भन्सार नतिरेर तस्करी गर्न मिलदैन। अन्य सामान तस्करी गरे जस्तै हो। सीमामा सशस्त्र प्रहरी छ। यता प्रहरी पनि छ। उहाँहरूले रोक्नुपर्छ।

नेपाल सरकारले एक क्विन्टलको ६ सय ३५ रुपैयाँ उखुको मूल्य निर्धारण गरेको छ। भातबाट ५ सय रुपैयाँमै उखु खरिद हुने गरेको छ। भारतबाट आयात भएको उखुमा एक क्विन्टलमा नै एक सय १८ रुपैयाँ नाफा तस्करहरूले लिने गरेको स्थानीयको गुनासो छ।

 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस