प्रधानमन्त्री प्रचण्डसँग बेलायती सेनाध्यक्षले गरे शिष्टाचार भेट

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले मंगलवार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो। नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले भेटमा हार्दिक आभार व्यक्त गरे।
शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा काठमाडौँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। स्यान्डर्सले मंगलवार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।

