सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी मेयरका ‘पीए’सहित दुई जनाको नाममा पक्राउ पुर्जी आए मुद्दा दर्ता

२०८० माघ १६, ०४:२४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि गरेको विषयमा छानविन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा परेको छ। तर मुद्दा दर्ता नभएर दर्ता प्रक्रियामै रहेको छ।

अत्तरिया उद्योग वाणिज्य संघका सचिव समेत रहेका टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववीयु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी कैलाली प्रहरीमा परेको छ।
साउँद गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टका स्वकीय सचिव (पीए)समेत हुन्।

उनीहरु विरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयका एसपी देबेन्द्रबहादुर पालको टेबुलमा पुगे पनि दर्ता भएको छैन। पालले किटानी जाहेरी प्राप्त भएको बताउँदै दर्ता हुने प्रक्रियामा रहेको बताए। प्रहरी कार्यालयको मुद्दा फाँटका अनुसार दुबै जना विरुद्ध पक्राउ पुर्जी अनुमोदन भएर आएपछि मुद्दा दर्ता हुनेछ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितका १२ जना पदाधिकारी उनीहरुविरुद्ध किटानी जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका थिए। अध्यक्ष बोहराले नक्कली टिकट प्रकरणमा आन्तरिक रुपमा छलफल गरेर संलग्नलाई गल्ती स्वीकार गर्न आग्रह गरिएको भए पनि त्यस्तो नगरिएपछि उनीहरुविरुद्ध अनुसन्धानका लागि प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

महोत्सवमा टिकट वितरकको जिम्मेवारी सचिव साउँदलाई थियो भने स्ववियु सभापति महराले टिकट बिक्रीको जिम्मा पाएका थिए। अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा २८ ठेली नक्कली टिकट बरामद गरिएको थियो। अत्तरियामा सञ्चालन भएको प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्रि भएको भेटिएपछि यो विषयको अनुसन्धानको माग गर्दै व्यवसायीले यसअघि प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका थिए।

कमेन्ट लोड गर्नुस