सुदूरमा घरजग्गा रजिष्ट्रेशनमा गिरावट, कैलालीमा १६ सय ३३ भवनको नक्सापास
धनगढीः सुदूरपश्चिम प्रदेशमा घरजग्गा रजिष्ट्रेशनमा गिरावट आएको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा घरजग्गा रजिष्टेशनमा गिरावट आएको हो। प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा घरजग्गा रजिष्ट्रेशन संख्या ३० दशमलव शून्य ६ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्ष सो संख्या ९ दशमलव ७१ प्रतिशतले बढेको थियो।
त्यस्तै घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व संकलन ५४ दशमलव शून्य दशमलव १ प्रतिशतले ह्रास भएर ६७ करोड ९० लाख भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यस्तो राजस्व संकलन १८ दशमलव ४३ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा वर्षमा घर/भवन नक्सा पास संख्या ६ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ।
गत वर्षको सोही अवधिमा घर/भवन नक्सा पास संख्या २ दशमलव ३६ प्रतिशतले घटेको थियो। सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन संख्यामा ह्रास आएको छ। बाजुरा बाहेक अन्य सबै जिल्लाहरुमा घरजग्गा रजिष्ट्रेशन राजश्वमा समेत ह्रास आएको हो। समीक्षा वर्षमा कैलाली जिल्लामा सबैभन्दा बढी १६ सय ३३ वटा घर/भवन नक्सा पास भएका छन्।
बाजुरा, डडेलधुरा र दार्चुलामा घर/भवन नक्सा पास भएको छैन। तर आर्थिक वर्ष २०७९/८० मा आर्थिक गतिविधिहरु बढ्नुका साथै पहाडी जिल्लाहरुमा कर्जा लगायत बैंकिङ्ग प्रयोजनका लागि घरनक्सा पास गर्ने प्रचलन बढेका कारण नक्सा पास संख्यामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। दार्चुला र डडेल्धुरामा समीक्षा वर्षमा घरनक्सा पास नभएको तर अभिलेखीकरण कार्य मात्र भएको तथा बाजुरामा नक्सा पास गर्ने प्रचलन विगतमा समेत नरहेकोले गत वर्ष समेत नक्सा पासको संख्या शुन्य देखिएको छ।