सामुदायिक वन उपभोक्ता समूह गठनमा वन मन्त्री धामीको इन्ट्रेस्ट हाबी
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को सिद्धार्थ सामुदायिक वन उपभोक्ता समूह गठनमा राजनीतिक चलखेल भएको छ।
राजनीतिक संरक्षणमा २०७७ जेठमा म्याद सकिएको समितिले राजनीतिक चलखेल गरिरहेको बुझिएको छ। विधान सम्मत तरिकाले तीन पटकसम्म साधारण सभा गर्न वन डिभिजन कार्यालयले दिएको निर्देशन अटेरी गरिरहेको टुन्नीदेवी चौधरी समूहले वन उपभोक्ता समूहमा राजनीति गरिरहेको आरोप लालबहादुर चौधरी समूहले लगाएको छ। उपभोक्ता समूहका बहुमत सदस्यको उपस्थितिमा भएको विशेष साधारण सभाबाट चयन भएको कार्यसमितिलाई काउन्टर दिन टुन्नीदेवी चौधरीले राजनीतिक संरक्षणमा भीमबहादुर तोलाङ्गीको अध्यक्षमा अर्को समिति गठन गरेर विवाद झिक्ने काम भएको छ।
धनगढी उपमहानगरपालिका–१४ मा रहेको सिद्धार्थ सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष रहेकी टुन्नीदेवी चौधरीको दोस्रो कार्यकाल २०७७ जेठ १२ गते सकिएको हो। चार वर्ष अगाडि कार्यकाल सकिए पनि २०८० पुस २१ गतेसम्म टुन्नीदेवी नै समूहको अध्यक्ष रहेको पाइएको छ। सव–डिभिजन वन कार्यालय फूलबारी र डिभिजन वन कार्यालय धनगढीकोसाधारण सभा बसाल्नु पर्ने पटकपटकको लिखित र मौखिक निर्देशन लत्याउँदै आएकी टुन्नीदेवी चौधरीले राजनीतिक पहुँचको आधारमा वन उपभोक्ता समितिको विधान विपरीत काम गरेको पाइएको छ।
विधान विपरीत काम गर्न थालेपछि उपभोक्ता समूहका एक चौथाई सदस्यले विषेश साधारण सभा बोलाउनु पर्ने भन्दै २०७७ जेठ २७ मा डिभिजन वन कार्यालयमा निवेदन दिएका छन्। डिभिजन वन कार्यालय धनगढीले सोही दिन चलानी नम्बर ३००५ को पत्र काटेर साधारण सभा राख्न निर्देशन दिएको छ। तर, टुन्नीदेवी चौधरीले साधारण सभा बोलाइनन्। फेरि दोस्रो पटक २०७८ फागुन १५ गते डिभिजन वन कार्यालय धनगढीको पत्रको कार्यान्वयन गर्न र विशेष साधारण सभा बोलाइ पाऊ भनेर समूहका ११४ जनाले सव डिभिजन फूलबारीमा निवेदन दर्ता गराएका छन्।
२०७८ चैत १० मा डिभिजन वन कार्यालय धनगढीले फेरि टुन्नीदेवी चौधरी र सव–डिभिजन वन कार्यालयलाई पत्र पठाएको छ। तर, यी पत्रको अवज्ञा गर्दै टुन्नीदेवी चौधरीले पदावधि सकिएको चार वर्षसम्म वनको अध्यक्षको हैसियतमा पद ओगटेको पाइएको छ। पछिल्लो पटक वन उपभोक्ता समूहको विधानको व्यवस्था अनुसार बहुमत उपभोक्ताको उपस्थितिमा स्थानीय लालबहादुर चौधरीको अध्यक्षतामा पुस २१ गते ११ सदस्यीय कार्यसमिति गठन गरिए पनि त्यो समितिलाई आधिकारिकता नदिएको बहुमत उपभोक्ताको विशेष साधारण सभाबाट अध्यक्षमा चयन भएका लालबहादुर चौधरीको भनाइ छ।
मलाई बहुमत उपभोक्ताहरूले अध्यक्षमा चयन गरेका हुन्। १६८ जनाको भेलाबाट म अध्यक्ष चुनिएको हुँ। अर्को समूहको पक्षमा १० देखि १५ परिवार मात्रै छन्। तर हाम्रो समितिलाई आधिकारिकता भने दिइएको छैन। हामीले विधानअनुसार नै समिति चयन गरेका हौँ, चौधरीले दिनेशखबरसँग भने। सिद्धार्थ सामुदायिक वन उपभोक्ता समूहको विधान २०६८ को परिच्छेद ३ को १० (१) र (२) मा भएको व्यवस्थाअनुसार गत पुस २१ मा विषेश साधारण सभा राखिएको हो।
विशेष साधारण सभामा सव डिभिजन वन कार्यालयका मेघराज भट्ट, हरिराम चौधरी र शिवराज भट्ट तथा वडा सदस्य कृष्णादेवी दमाईको उपस्थितिमा १८६ जना उपभोक्ताहरूको सहभागितामा सम्पन्न भएको छ। तर, सव–डिभिजन वन कार्यालय फूलबारी र डिभिजन वन कार्यालय धनगढीले लालबहादुर चौधरी अध्यक्ष रहेको समितिलाई वैधानिकता दिन आनाकानी गर्दै आएका छन्। माथिको दबाबका कारण विधान अनुसार गठन भएको कार्यसमितिलाई आधिकारिकता प्रदान गर्न नसकिने वन अधिकारीहरूले बताउनेको गरेको स्थानीय उपभोक्ता शेरबहादुर बिष्टले बताए। ूहामीले विधानको अधिनमा रहेर विषेश साधारण सभा गरेका हौँ।
हाम्रो समितिलाई सिफारिस गर्न सव–डिभिजन वन कार्यालय फूलबारीले मानेको छैन। सव–डिभिजन र डिभिजन वन कार्यालयमा कुरा गर्दा उहाँहरू माथिको दबाबका कारण सिफारिस दिन र समिति दर्ता गर्न नसकिने भन्नुहुन्छ,ू बिष्टले भने। पुस २१ गते बहुमत उपभोक्ताहरूले विशेष साधारण सभा बसालेर नयाँ कार्यसमिति गठन भएको कुरा १४ नम्बर वडा कार्यालयको आधिकारिक पत्रले पनि पुष्टि गरेको छ। यता, नेकपा माओवादी केन्द्र निकट रहेको भनिएकी टुन्नेदेवी चौधरीको समूहले चार वर्षसम्म साधारण सभा राख्न अटेरी गरे पनि पुस २८ मा पहिलो पटक साधारण सभा गर्ने निर्णय गरेको बुझिएको छ।
त्यो दिन माघी पर्वको कारण माघ ८ मा साधारण सभा राख्ने भनेर मिति सारिएको छ। माघ ८ गते साधारण सभा बसाल्न आवश्यक संख्या नपुगेपछि माघ १४ गते साधारण सभा राख्ने निर्णय टुन्नीदेवीको समूहले गरेको देखिन्छ। तर, १४ गते पनि उपभोक्ताको उपस्थिति नहुने देखेपछि माघ १२ गते राति स्थानीय भीमबहादुर तोलाङ्गीको अध्यक्षतामा अर्को सामानान्तर समिति गठन गरेर २१ गते लालबहादुर चौधरीको अध्यक्षताम गठित समितिलाई काउन्टर दिइएको छ।
माघ ८ गते गणपुरक संख्या नपुगेको भन्दै सवडिभिजन वन कार्यालयबाट गएका प्रतिनिधि १४ गते साधारण सभा राख्ने भन्दै फर्किएपछि टुन्नीदेवी चौधरीको समूहले भीमबहादुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको फायल सव–डिभिजन वन कार्यालयमा पेस गरेको छ। माघ ८ गते करिब ६० जनाको मात्रै उपस्थिति रहेको भए पनि १२ गते राति लेखिएको माइन्युटमा ११६ जनाको उपस्थिति देखाइएको सव–डिभिजन वन कार्यालय फूलबारीका वन अधिकृत श्यामसुन्दर माझीले बताए। माघ ८ गते हाम्रो केटाहरू गएको हो, तर गणपुरक संख्या नपुगेपछि साधारण सभा स्थगित गरेर उनीहरू साँझ फर्किएका हुन्।
त्यो दिन १४ गते फेरि साधारण सभा राख्ने मिति तय भएको हो। तर, सभा स्थगित भएको कुरा लेखिएको पाना अहिले छैन। फेरि उहाँहरूले ११६ जनाको उपस्थिती रहेको फायल पेस गरेका छन्। एउटा भन्छ मलाई सिफारिस दे, अर्को भन्छ मलाई दे१ निकै समस्या भएको छ, वन अधिकृत माझीले भने। प्रदेश वन मन्त्री रमेशसिंह धामी निकट रहेको भनिएकी टुन्नीदेवी चौधरीले विगतमा काठ व्यवसायीबाट लिएको रकमका कारण आफू अनुकूलको कार्यसमिति गठन गर्न जोडबल गरेको बहुमत पक्षका उपभोक्ताहरूको दाबी छ। विगतमा सामुदायिक वनको काठ उपलब्ध गराउने भन्दै लिएको रकमको काठ आगामी दिनमा उपलब्ध गराउन सहज होस् भनेर मन्त्रालय र मन्त्रीको पावर लगाएर विधानसम्मत बसेको साधारण सभाको निर्णय तुहाउने मनसायले अर्को कार्यसमिति गठन गरिएको लालबहादुर चौधरी पक्षले बताएको छ। तर, प्रदेश वन मन्त्री धामीले यो विषयमा आफ्नो संलग्न नभएको दाबी गरेका छन्।