सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको क्षेत्रगत हिस्सा अझै कमजोर

२०८० माघ १५, १२:०५ खबर संवाददाता

धनगढीः राष्ट्रिय अर्थतन्त्रमा सुदूरपश्चिम प्रदेशको क्षेत्रगत हिस्सा अझै कमजोर देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३ खर्ब ७६ अर्ब हुने अनुमान गरिएको थियो भने गत आर्थिक वर्षको संशोधित अनुमान ३ खर्ब ४५ अर्ब रहेको छ। अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय तहमा कुल गार्हस्थ्य उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले गत आर्थिक वर्षसम्म ७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको थियो।

आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ४ दशमलव ७८ प्रतिशत थियो भने आर्थिक वर्ष २०७९/८० मा संकुचन आएर १ दशमलव ७८ प्रतिशत कायम रहन पुगेको छ। बृहत औद्योगिक वर्गीकरण अनुसार प्रादेशिक कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान ३३ दशमलव ४ प्रतिशत कृषि क्षेत्रको रहेको छ भने सबैभन्दा कम योगदान शून्य दशमलव १ प्रतिशत प्रशासनिक सहयोगी क्षेत्रको रहेको छ।

बृहत औद्योगिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०७९/८० को राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा सुदूपश्चिम प्रदेशको क्षेत्रगत हिस्सामध्ये सबैभन्दा बढी हिस्सा १२ दहमलव ७ प्रतिशत सार्वजनिक प्रशासन, रक्षा र अत्यावश्यक सामाजिक सुरक्षा क्षेत्रको छ भने सबैभन्दा कम हिस्सा १ दशमलव २ प्रतिशत प्रशासनिक तथा सहयोगी क्षेत्रको रहेको छ।

कमेन्ट लोड गर्नुस