सुखडमा राष्ट्रिय माविको दुई बिघा जमिन ४० वर्षदेखि व्यापारीको कब्जामा
धनगढीः कैलालीको सुखडमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयमा २०७५ सालमा ९३ करोडको योजना आयो।
विद्यालयलमा दुईवटा छात्रावास भवनहरु, एक चमेनागृह र एक फिजियोथेरापी भवन निर्माणका लागि योजना परेको हो। विद्यालयले उत्तर–पश्चिमको शान्तिनगरमा भवनहरु निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार पारेको थियो। तर, उक्त क्षेत्र नदीको बाढीले बगाएपछि भवन निर्माणको काम अलपत्र परेको छ। विद्यालयको पूर्वी क्षेत्रको कित्ता नम्बर ९७ को ८ कट्ठा जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरिएको छ।
संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा विभागको बजेटमा चारवटा भवन निर्माणका लागि ८ कट्ठा जग्गा खाली गर्न सूचना जारी गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले योजना फिर्ता जाने अवस्थामा रहेकाले ८ कट्ठा जग्गा खाली गर्न सूचना जारी गरिएको बताए। उनले भने, ‘प्रदेश आवसिय विद्यालयका लागि योजना आएको हो। सुस्तमनस्थितीका विद्यार्थीका लागि योजना आएको हो।
शान्तिनगर बाढीले बगायो। खेलमैदान मास्न भएन। २ बिघा जग्गमा मानिस बसोबास गर्दै आएका छन्। उहाँहरुले विद्यालयलाई आवश्यक परेका बेला छोड्ने सम्झौता गरेका छन्। अहिले ८ कट्ठाको पलटमा भवनहरु निर्माण गर्दैछौ।’ विद्यालयमा आएको आयोजना फिर्ता जाने अवस्थामा पुगेपछि विद्यालयले खाली गर्न ३५ दिनको सूचना जारी गरेको छ।
राष्ट्रिय माविको जमिन ४० वर्षदेखि कब्जा
राष्ट्रिय माध्यामिक विद्यालयको २ बिघा जग्गा व्यपारीहरुले कब्जा गरेका छन्। ४० वर्षदेखि उनीहरुले भाडासमेत दिएका छैनन्। २०४० सालमा विद्यालयलाई मासिक भाडा तिर्ने गरेर जग्गा लिएका उनीहरुले भाडा दिन समेत आनाकानी गर्दै आएका छन्। २ बिघामध्ये ८ कट्ठा मात्र खाली गर्न विद्यालयले सूचना जारी गरेको छ। उक्त क्षेत्रमा भवनहरु निर्माण गर्न पाँच करोड विद्यालयको खातामा बजेट छ।
बाँकी १२ कट्ठा २ धुर जग्गा स्थानीय तथा व्यापारीहरुकै कब्जामा रहने देखिएको छ। उक्त क्षेत्रमा एक सय २५ वटा घर÷संरचनाहरु रहेका छन्। विद्यालयलाई चाहिएको समय खाली गर्ने सम्झौता गरेका उनीहरुलाई हटान विद्यालयले सकेको छैन। उनीहरुबाट भाडा उठाउन समेत विद्यालयले सकेको छैन। अहिले ८ कट्ठा जग्गा खाली गर्न राजनीतिक दलहरु पनि सहमत भएका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालले २०७५ सालमा आएको ठुलो आयोजना फिर्ता जाने भएकाले ८ कट्ठा खाली गर्न सूचना जारी गरिएको बताए। उनले भने, ‘जग्गा अभावले योजना फिर्ता जाने भयो। हामी आएपछि राजनीतिक दलहरुसँग छलफल गरेका छौ। विद्यालयले ८ कट्ठामा नयाँ भवनहरु निर्माण गर्न निर्णय भएको छ।’
कब्जा गरिएको जमिनमा व्यापारिक भवनको योजना
राष्ट्रि माध्यामिक विद्यालय, सुखडले ८ कट्ठा व्यापारीको कब्जामा रहेको जग्गा खाली गरेपनि १२ कट्ठा अझै बाँकी रहने देखिएको छ। उक्त क्षेत्रमा समेत व्यापारीहरुले घर÷टहराहरु निर्माण गरेका छन्। विभिन्न किसिमका व्यापारहरुसमेत गर्दै आएका छन्। त्यो क्षेत्रमा समेत विद्यालयले व्यापारीक भवनहरु निर्माण गर्ने योजना बनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हमालका अनुसार भूमिगत पार्किङ्ग (अन्डरग्राउड), स्टार होटलहरु, सिनेमा हलहरुसहितको ठुलो व्यापारीक भवनहरु निर्माण गर्ने योजना छ। घोडाघोडी नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीक भवन निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गर्दैछ। एसियाली विकास बैँक (एडिबी) तथा नगर विकास कोषको ऋण सहयोगमा व्यापारीक (सपिङ्ग कम्पलेक्स) निर्माण गर्ने योजना विद्यालयको छ।
हमाले भने, ‘विद्यालयको नाममा रहेको दर्ता जग्गामा नयाँ विद्यालयको भवन निर्माण हुँदैन। बजारीकरण गर्ने हो। सपिङ्ग कम्पलेक्सहरु निर्माण गर्ने हो। बजेटको जोहो गर्दैछौ। एडिबी वा नगर विकास कोषबाट ऋणमा बजेट ल्याउछौ। अहिलेका व्यापारीहरु विस्थापित गर्ने होइन। ठुला महलहरु निर्माण गर्ने हो। त्यो क्षेत्रमा रहेका व्यापारीहरुलाई पहिलो प्राथामिक्ता दिनेछौ।’
विद्यालयले ३३ सटरको धरौटीसमेत पाएन
विद्यालयले निर्माण गरेका ३३ वटा सटरसमेत व्यापारीहरुको कब्जामा छन्। मासिक ५ हजार भाडामा दिइएका सटरवाफतको भाडा असुली भएको छैन। ३३ वटा सटरमा रहेका व्यापारीहरुले धरौटी रकमसमेत जम्मा गरेका छैनन्। उनीहरुले एक लाख धरौटी रकम जम्मा गर्ने र मासिक भाडा तिर्नुपर्ने हो। तर, सम्झौता अनुसार धरौटी र मासिक भाडा नदिएकाले सम्झौता रद्ध गर्ने प्रक्रिया सुरु भएको दाबी विद्यालयको छ। धरौटी र बक्यौता रकम विद्यालयको खातामा जम्मा नभए नयाँ सूचना सार्वजनिक गर्ने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको छ।