सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र मधेस विजयी

२०८० माघ १४, ०७:२८ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब र मधेस प्रदेश विजयी भएका छन्।

कीर्तिपुरमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय ६४ रनको फराकिलो अन्तरले हरायो। आर्मीले दिएको २ सय ८० रनको लक्ष्य पछ्याएको कर्णाली २९ ओभरमा १ सय १५ रन बनाउँदा अल आउट भयो। आर्मीका विवेक यादव र कुशल मल्लले समान ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ७९ रन बनाएको थियो। मधेसका दीपेन्द्र रावतले २ विकेट लिए। आर्मी १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। कर्णाली ६ अङ्कसहित सातौँ स्थानमा छ। यस्तै अर्काे खेलमा मधेसले लुम्बिनी प्रदेशलाई ९ रनले ले हरायो।

मधेसले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४० ओभर ५ बलमा १ सय ६० रन बनाउँदा अल आउट भयो। मधेसका प्रदीप पासवानले ६ विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको मधेस ४१ ओभर ३ बलमा १ सय ६९ रनमा अल आउट भयो। लुम्बिनीका वीर मगरले ४ र अभिषेक गौतमले ३ विकेट लिए। मधेस १० अङ्कसहित चौथो स्थानमा छ। लुम्बिनी २ अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ।
 

कमेन्ट लोड गर्नुस