सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षा नहुँदा हिउँदे बाली प्रभावित, यस्तो छ सुदूरपश्चिमको मौसम पूर्वानुमान

२०८० माघ १४, ०६:१८ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेशको आकाशमा आइतवार बिहानैदेखि बाक्लो बादल लागेको छ। यो वर्षको हिउँदमा अहिलेसम्म पानी नपरेका कारण आकाशमा बादल देखिँदा सर्वसाधारणले पानी पर्छ कि भन्ने आशा गरेका छन्।

पश्चिमी वायुको प्रभावले आकाशमा लागेको बाक्लो बादले भने सुदूरपश्चिममा वर्षा गराउने सम्भावना निकै कम छ। उच्च हिमाली भेगमा छिटपुट हिमपात भएपनि सुदूरपश्चिममा तीन दिनयता पानी पर्ने सम्भावना नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्। ‘कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिमको पनि उच्च हिमाली क्षेत्रको एक दुई स्थानमा हिमपात हुने सम्भावना छ। तर, हिउँ निकै कम पर्ने सम्भावना छ। सुदूरपश्चिमको आकाशमा बाक्लो बादल लागे पनि तीनदिनयता वर्षा हुने सम्भावना छैन’, मौसमविद् मानन्धरले दिनेशखबरलाई बताइन्। सुदूरपश्चिममा वर्षा गराउने वायुको प्रणाली विकास नभएकाले बुधवारसम्म बादल लागे पनि वर्षा नहुने अनुमान गरिएको हो। उच्च हिमाली भागमा पनि केही स्थानमा निकै थोरै हिमपात हुने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले हरेक तीन दिनको मौसमको पूर्वानुमान गर्छ। आइतवार गरिएको पूर्वानुमानमा सुदूरपश्चिम बदली रहने तर पानी नपर्ने अवस्था देखाएको छ। अहिले विकसित भएको प्रणालीले आकाशमा बदली गरे पनि अर्को प्रणाली विकास भए मात्र तीन दिनपछि पानी पर्न सक्ने मौसमविद् मानन्धरले बताइन्। ‘अहिले नै पानी पर्ने प्रणाली विकसित भएको छैन। हामीले तीन दिनको अनुमान गर्छौँ। बुधवारसम्म सुदूरपश्चिम क्षेत्रमा बदली भएपनि पानी पर्ने सम्भावना छैन। बुधवारपछि अर्को प्रणाली विकसित भए पानी पर्न सक्छ। तर, त्यो कुरा अहिल्यै अनुमान गर्न सकिन्न’, उनले भनिन्। सुदूरपश्चिम प्रदेशमा मनसुनको समाप्तिपछि हिउँदे वर्षा भएको छैन।

हिउँदमा वर्षा नहुँदा पहाडी तथा हिमाली क्षेत्रमा हिउँदे बाली प्रभावित भएको छ। हिउँदमा पानी र हिमपात नभए खाद्यान्न र फलफूल उत्पादनमा प्रतिकूल असर पर्ने चिन्ता गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस