सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमा नयाँ कुष्ठरोगीको संख्या बढ्दै, कैलालीमा सबैभन्दा धेरै

अछामलाई कुष्ठरोगबाट मुक्त बनाउने अभियानमा सहभागि स्थानीय
अछामलाई कुष्ठरोगबाट मुक्त बनाउने अभियानमा सहभागि स्थानीय
२०८० माघ १३, ०६:२३ नारायण अवस्थी

धनगढीः आर्थिक वर्ष २०७९/८० को तथ्याङ्कअनुसार सुदूरपश्चिममा २३० जना नयाँ  कुष्ठरोगी पत्ता लागेका छन्।

कैलालीमा १४९, कञ्चनपुरमा ४३ र अछाममा २२ जना कुष्ठ रोगी फेला परेका हुन्। त्यस्तै, बझाङमा ५, बैतडीमा ४, डोटीमा ३, दार्चुलामा २ र बाजुरा तथा डडेल्धुरामा १/१ जना नयाँ कुष्ठरोगी फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरभित्र ८७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् भने कैलारी गाउँपालिकाभित्र २२ जना नयाँ बिरामी पत्ता लागेका छन्।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरभित्र १९ जना नयाँ बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७९/८० को अन्तसम्म सुदूरपश्चिममा २७९ जना कुष्ठरोगी रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ। जसमध्ये कैलालीमा १९३, कञ्चनपुरमा ४५, अछाममा २२ जना र बाँकी अन्य जिल्लाका बिरामी हुन्। सुदूरपश्चिममा गत वर्ष नयाँ पत्ता लागेका बिरामीमध्ये १४ जना बालबालिका छन्।

१४ वर्षमुनिका बालबालिकामा १२ जना कैलालीका हुन् भने १/१ जना अछाम र कञ्चनपुरका हुन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०७८/७९ मा कुष्ठरोगका २०५ जना नयाँ बिरामी फेला परेका थिए भने आर्थिक वर्ष २०७९/८० मा २३० र चालु आर्थिक वर्षको पुससम्म १०६ जना नयाँ बिरामी फेला परेका छन्। चालु आर्थिक वर्षको पुष मसान्तसम्म कुष्ठरोग लागेका पुरुषको संख्या ५४ छ भने ५२ जना महिला छन्।

नयाँ संक्रमितमध्ये ९१ जनामा बढी सर्ने र १५ जनामा कम सर्ने कुष्ठरोग लागेको उल्लेख छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोव्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। यो रोग मानिसबाट मानिसमा सर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

उपचार नगरेको कुष्ठरोगीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वासप्रश्वासको माध्यमबाट यो रोग सर्छ। सुरूकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैन भने समयमा नै उपचार गरेमा कुष्ठरोग पूर्ण रुपमा निको हुने र अपाङ्गता नहुने चिकित्सकले बताएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस