अफगानिस्तानमाथि नेपालको रोमाञ्चक जित
यू १९ विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानमाथि नेपालले रोमाञ्चक जित निकालेको छ। यो जितसँगै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ। समूह चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले पराजित गर्दै नेपालले सुपर सिक्समा स्थान बनाएको हो।
आज दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेका अफगानिीतानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। १ सय ४६ रनको लक्ष्य नेपालले ९ विकेट गुमाएर ४५ ओभरमा पूरा गरेको हो। नेपाललाई ६ रन आवश्यक भएको बेला दीपक बोहोरा आउट भएपछि खेल संकटपूर्ण बनेको थियो। त्यसपछि अफगान बलरले मेडन ओभर फालेपछि नेपाली खेलाडीतर्फ दबाब बढेको थियो। तर सुवास भण्डारीले १ रन आवश्यक रहेको अवस्थामा चौका प्रहार गर्दै टेस्ट मान्यता राष्ट्रमाथि नेपालको पहिलो जित दर्ता गराए।
कप्तान देव खनालले ५८ रनको अर्धशतकीय पारी खेलेपछि नेपालले रोमाञ्चक जित हात पारेको हो। नेपालको जितमा दीपक बोहाराले २७ रन बनाए भने आकाश त्रिपाठीले १६ र अर्जुन कुमालले १० रन योगदान दिएका थिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।
यसअघि नेपालका लागि आकाश चन्दले ५ विकेट लिएपछि अफगानिस्तान संकटमा परेको थियो। चन्द जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीसमेत बनेका छन्। सुवास भण्डारीले २ विकेट लिएका थिए भने तिलक भण्डारी र गुल्सन झाले एक÷एक विकेट लिएका थिए।