सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका १९ सडक कालोपत्र गर्न प्रदेश सरकारबाट ६१ करोडको सुनिश्चितता

२०८० माघ ११, १०:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले धनगढीका १९ सडक कालोपत्रका लागि बजेटको सुनिश्चितता पठाएको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले धनगढीका १९ सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको थियो।

धनगढी उपमहानगरपालिका क्षेत्रका १९ सडक कालोपत्रका लागि प्रदेश सरकारले २० करोड ५० लाख बजेट विनियोजन गरेको थियो। सडकको सङ्ख्या धेरै र बजेटको मात्रा कम भएपछि थप बजेट माग गरिएको थियो। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय, कैलालीले ६१ करोड २४ लाखको बजेट सुनिश्चितता पाएको हो। पूर्वाधार विकास कार्यालय, कैलालीले आर्थिक मामिला मन्त्रालयबाट सोमवार बजेट सुनिश्चितताको पत्र पाएको हो।

सोमवार मात्र बजेटको सुनिश्चित पाएकाले आइतवारसम्म बोलपत्रका लागि सूचना सार्वजनिक गर्ने तयारीमा पूर्वाधार कार्यालय, कैलाली रहेको छ। पूर्वाधार कार्यालय, कैलालीका निमित्त प्रमुख रामचन्द्र खत्रीले आर्थिक मामिला मन्त्रालयबाट बजेट सुनिश्चितको पत्र आएकाले बोलपत्रको प्रक्रियामा रहेको बताए।

धनगढी उपमहानगरपालिकाले विस्तृत योजना प्रतिवेदन (डिपीआर) गरेअनुसारका सबै सडक कालोपत्रका लागि भने सूचना सार्वजनिक हुने छैन। धनगढीमा एक किलोमिटर सडक नाली, फुटपाथसहित कालोपत्रका लागि झन्डै ७ करोड बजेट आवश्यक हुन्छ। सोही अनुसार सडकको लम्बाइ घटाइने भएको छ। पूर्वाधार कार्यालय, कैलालीले सडकको लम्बाइ कम गरेर कालोपत्रका लागि बोलपत्रको सूचना सार्वजनिक गर्ने तयारी थालेको छ।

 

कमेन्ट लोड गर्नुस