सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सवमा नक्कली टिकट विक्री प्रकरणको छानबिन गर्न प्रशासनसँग माग

२०८० माघ ९, ०५:३८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट विक्री प्रकरणको छानबिनका लागि आयोजकले प्रशासनसँग माग गरेको छ। कैलालीको अत्तरियामा समापन भएको प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट बिक्री भएको पुस्टिभएपछि आयोजक अत्तरिया उद्योग वाणिज्य संघ जिल्ला प्रशासन कार्यालय कैलाली पुगेको हो।

अत्तरिया उद्योग वाणिज्य संघले छानबिन तथा कारबाहीको मागसहित जिल्ला प्रशासन कार्यालय, कैलालीमा म‌ंगलवार पत्र दिएको हो। प्रहरीलाई छानबिन तथा अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले निर्देशन दिएका छन्।

महोत्सव स्थलमा सय रुपैयाँ प्रति टिकटका एक हजार चार सय टिकट नक्कली फेला परेको अत्तरिया उद्योग वाणिज्य संघले बताएको छ। अत्तरिया उद्योग वाणिज्य संघले २८ वटा टिकटका ठेली नक्कली नियन्त्रणमा लिएको थियो। एक लाख ४० हजारको नक्कली टिकट विक्रीका लागि ठेली छपान भएको हो।

आयोजकले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियालाई टिकट विक्रीको जिम्मा दिएको थियो। दुर्गालक्ष्मकी बहुमुखी क्याम्पसका स्ववियु सभापछि भूवन महराका अनुसार प्रति टिकटमा २ रुपैयाँ स्ववियुले पाउने सम्झौता भएको थियो। आयोजकले एक रुपैयाँ प्रति टिकट रेडक्रसलाई समेत दिने सम्झौता गरेको थियो।

उद्योग वाणिज्य संघका महासचिव शंकर खड्काका अनुसार २ ठेली पूर्ण विक्री भएका र एकबाट १७ वटा, अर्काेबाट १३ र अर्काे बाट ६ वटा टिकट विक्री भएपछि नक्कली टिकट नियन्त्रणमा लिइएको थियो। १३ हजार ६ सयका टिकट विक्री भएपछि आयोजकले ठेली नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस