सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा व्यावसायिक प्रयोजनका सटरहरु धमाधम बन्द हुँदै, यस्तो छ कारण

२०८० माघ ८, ०६:२४ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढीमा व्यावसायीक प्रयोजनका सटरहरु धमाधम बन्द हुन थालेका छन्।

धनगढी मूख्य सडक क्षेत्रमै सञ्चालनमा रहेका पसलहरू बिक्रीमा रहेको व्यानर झुण्डिन थालेका छन्। सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट समेत व्यवसायी पलायन हुने क्रम बढेको छ। आर्थिक मन्दी, रोजगारको अभावले उपभोक्ता पलायन हुँदा प्रदेशभर व्यापार–व्यवसायमा मन्दी छाएको निजी क्षेत्रको गुनासो छ।

एक वर्ष अगाडि धनगढीमा सटर भाडामा छ भन्ने सूचना हरेक घर र सटरमा देखिन्थे भने यो वर्षबाट पसल बिक्रीमा रहेको सूचना टाँस गर्न थालिएको छ। कोरोना महामारीपछि व्यापार–व्यवसायमा छाएको मन्दी अहिले आएर झन बढेको व्यवसायीहरूको गुनासो छ। बैंकको व्याजदर र उपभोक्ताको विदेश पलायनले समग्र व्यापार—व्यवसाय चौपट भएको धनगढी होलसेल व्यवसायी संघका महासचिव यमनाथ सिग्देलले बताए।

‘कोरोनाको समयमा लामो समयसम्म व्यापार व्यवसाय बन्द भयो। कोरोना आर्थिक मन्दी हुनुको मुख्य कारण हो,’ उनले भने, ’बैंकले जुन किसिमले ब्याजदरमा कडाई गर्यो त्यसले पनि असर गर्यो। अहिले सुदूरपश्चिमबाट उपभोक्ताको भारत पलायन भएका कारणले पनि यहाँको व्यापार–व्यवसाय प्रभावित भएको छ।’ आर्थिक मन्दीका कारण व्यापार–व्यावसाय धरापमा परेको धनगढीका व्यवसायीको गुनासो छ।

आर्थिक मन्दीका कारण बजारमा उठाउन बाँकी रकम नउठेको, बैंकको निरन्तरको दबाब, इन्सुरेन्सको प्रिमियमा भएको बढोत्तरी र सरकारको गैरजिम्मेवारीका कारण व्यवसायीले दुःख पाइरहेको धनगढी होलसेल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष श्यामकृष्ण खतिवडाले बताए। ‘मन्दीको कारण व्यापार छैन। बजारमा बाकी पैसा उठ्दैन। दिनदिनै बैंकहरूको दबाब छ,’ उनले भने, ‘इन्सुरेन्सको प्रिमियम पनि बढेको छ।

बैकको व्याजदर घट्दैन। सरकारले केही गर्दैन। हामी त निकै मर्कामा छौँ।’ आर्थिक मन्दीको चपेटामा सर्वसाधारण उपभोक्ता परेकाले व्यक्तिको क्रयशक्तिमा ह्रास आएको छ। अर्थतन्त्रमा देखिएको मन्दीका कारण रोजगारी र स्वरोजगारीका क्षेत्र समेत प्रभावित हुँदा भारत तथा तेस्रो मुलुकमा हुने पलायन बढेको छ। जसले गर्दा उपभोक्ताको सुंख्यामा कटौति मात्रै भएको छैन बजारमा हरेक वस्तु र सेवाको मागमा गिरावट आएको छ।

सरकारको आर्थिक नीतिका कारण पनि व्यवसायी पलायन हुन लागेको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताए। आर्थिक मन्दी र सरकार तथा बैंकहरूको गलत नीतिमा सुधार नगर्दासम्म अहिलेकै अवस्थामा व्यापार–व्यावसायमा सुधार नआउने व्यवसायीहरुको तर्क छ। व्यापार व्यवसायलाई सहयोग गर्ने नीति ल्याएर सुधारका काम नगरिए उपभोक्ता र व्यावसायी आगामी दिनमा थप पलायन हुने चिन्ता गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस