असंलग्न आन्दोलनको १९औँ शिखर सम्मेलन आजदेखि सुरु, प्रचण्डले आजै सम्बोधन गर्ने
काठमाडौँ: असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलन आजदेखि सुरु हुने भएको छ। सम्मेलनको पहिलो दिन नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दै छन्। ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कमपालामा भोलिसम्म चल्नेछ।
प्रधानमन्त्री प्रचण्ड आजै युगान्डा गणतन्त्रका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा आयोजना हुने राजकीय भोजमा सहभागी हुनेछन्। शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी माघ ७ गते बिहान ९ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।