धनगढीको सिद्धार्थ सामुदायिक वन उपभोक्ता समिति ‘गैरकानुनी’
धनगढीः कैलालीको धनगढीमा एक सामुदायिक वन उपभोक्ता समिति गैरकानुनी रहेको पाइएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको सिद्धार्थ सामुदायिक वन उपभोक्ता समिति गैरकानुनी रहेको पाइएको हो।
सामुदायिक वनकी अध्यक्षलाई विधान विपरीत काम गरिरहेको आरोप लागाइएको छ। वन उपभोक्ता समितिको विधानअनुसार दुई वर्षका लागि अध्यक्षमा चयन भएकी टुन्नीदेवी चौधरीले सामुदायिक वनको विधान विपरीत काम गरिरहेको उपभोक्ताले आरोप लगाएका हुन्। उनी अध्यक्ष रहेको वन उपभोक्ता समिति नै गैरकानुनी भएको उपभोक्ताहरूले आरोप लगाएका छन्।
२०७५ मा सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएकी चौधरीले उपल्लो तहका नेताहरूको इसारामा काम गरिरहेको दाबी उपभोक्ताको छ। नेकपा माओवादी केन्द्र निकटकी चौधरीले दुई वर्षसम्म साधारण सभा गरेको भए पनि त्यसपछिका वर्षहरूमा साधारण सभा नराखेको उपभोक्ताले बताएका छन्।
तर, अध्यक्ष चौधरीले भने विधान र कार्ययोजना अनुरुप काम गरिरहेको बताएकी छिन्। उनले विरोधीहरूले अनर्गल प्रचार गरेको बताएकी छिन्। ‘वनमा के भएको छ भन्ने कुरा बुझ्न यहाँ आउनु प¥यो। विरोधीहरूले भनेको पत्याएर हुँदैन,’ उनले भनिन्, ‘साधारण सभा राख्ने, अडिट गर्ने सबै काम भएको छ। मैले विधान र कार्ययोजना अनुसार काम गरेको हो।’
वन उपभोक्ता समितिको विधानमा समितिको पदावधि दुई वर्षको मात्रै हुने व्यवस्था भए पनि टुन्नीदेवी चौधरी नेतृत्वको समिति गठन भएको साढे पाँच वर्ष पूरा हुँदा पनि चौधरीको समितिले नै वन सम्बन्धी कामकाज गरिरहेको छ। विधानमा दुई वर्ष पूरा भएपछि उपभोक्ता समिति स्वतः विघटन हुने प्रावधानको बेवास्ता गर्दै वन कर्मचारी र राजनीतिक नेतृत्वको आडमा चौधरीले वनलाई हानी नोक्सानी हुने काम गरेको उपभोक्ताहरूको गुनासो छ। अध्यक्ष चौधरीले डिभिजन वन कार्यालय धनगढी र सब–डिभिजन वन कार्यालय फूलबारीको साधारण सभा बसाल्नु भन्ने निर्देशनको समेत अटेरी गरेको पाइएको छ।
डिभिजन वन कार्यालय धनगढीले २०७७ जेठ २७ मा सब–डिभिजन वन कार्यालय फूलबारीले २०७८ चैत १० गते साधारण सभा राख्नु भन्ने निर्देशनको अध्यक्ष चौधरीले अवज्ञा गरेको उपभोक्ताको भनाइ छ। तर, आफू भर्खरै कार्यालयमा उपस्थित भएकाले विवादको विषय नै राम्रोसँग बुझ्न नपाएको सब– डिभिजन वन कार्यालय फूलबारीका वन अधिकृत श्यामसुन्दर माझीले बताए। ‘यताकाले उताको कुरा गलत हो भन्छन्, उताकाले यताको कुरा गलत भन्छन्। म भर्खरै सरुवा भएर आएकाले सबै कुरा बुझ्न पाएको छैन। उनीहरूले विधान पनि हेर्न दिएका छैनन्,’ वन अधिकृत माझीले भने।
सिद्धार्थ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले लगातार तीन वर्षदेखि साधारण सभा नबोलाएको उपभोक्ताको आरोप छ। वन उपभोक्ता समितिको साधारण सभा नबस्दा वन संरक्षणमा समस्या परेको ठहर उपभोक्ताको छ। अध्यक्षको कार्यशैलीका कारण सामुदायिक वन क्षेत्रबाट वन पैदावारको चोरी भइरहेको छ। अध्यक्ष चौधरीले काठ व्यवसायीबाट अग्रिम रकम भुक्तानी लिएकाले सो रकमको काठ उपलब्ध गराउन सहज होस् भनेर आफू निकट या नेकपा माओवादी केन्द्र निकट व्यक्तिलाई अध्यक्ष बनाउन साधारण सभा राख्न आलटाल गर्दै आएको गुनासो असन्तुष्ट उपभोक्ताहरूको छ।
तर, विरोधीहरूले त्यतिकै आरोप लगाएको र माघ ७ गते साधारण सभा गर्ने तयारी थालिएको अध्यक्ष टुन्नीदेवी चौधरीले बताइन्। ‘हामीले पुस २८ गते साधारण सभा राख्ने तयारी थालेका थियौँ। तर, त्यो दिन माघी मिलन कार्यक्रम गरिएकाले सम्भव भएन। अब माघ ७ गते साधारण सभा गर्ने तयारी छ,’ अध्यक्ष चौधरीले भनिन्। सामुदायिक वनहरूमा सुरुवाती दिनहरूमा वन संरक्षणका लागि उपभोक्ताहरू बीच सहकार्य हुने गरेको भए पनि अहिले भने अधिकांश सामुदायिक वनहरूमा विवाद हुने गरेको छ।
राजनीतिक दलका नेता, काठ व्यवसायी, वन कर्मचारी र समितिका बलिया पदाधिकारीहरूको अनावश्यक चलखेलका कारण सामुदायिक वन उपभोक्ता समितिमा विवाद हुने गरेको छ।