सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले युवालाई विदेश पठाउन प्रशिक्षण दिने

२०७६ वैशाख २६, ०४:०२ नवराज पनेरु

रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता हटाउने दावी गर्दै आएको सुदूरपश्चिम प्रदेश सरकारले विदेशमा युवाहरुलाई पठाउनका लागि भाषा प्रशिक्षण दिने कार्यक्रम ल्याएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले  बैदेशिक भाषा प्रशिक्षण दिने कार्यक्रम ल्याएको हो। सामाजिक विकास मन्त्रालयले कोरीयन र जापनीज भाषा सिकाउनका लागि ३५ लाख विनियोजन गरेको छ। ३५ लाखको बैदेशिक भाषा प्रशिक्षण दिन धनगढीकै स्टार प्रालीसंग सम्झौता समेत भईसकेको छ। बर्तमान सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा लगाईरहेका बेला विदेश पठाउन प्रोत्साहन दिने किसिमले उक्त कार्यक्रम ल्याईएको धनगढीका युवा केशव विष्टले बताए। उनले सुखी नेपाली, समृद्ध नेपालको नारालाई अवमुल्यन गर्न उक्त कार्यक्रम ल्याईएको भान भएको बताए। 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि मदजुरीका लागि भारत लगायतका देशमा जानुपर्ने बाध्यता हटाउने भाषण गर्दै आएका छन्। तर सामाजिक विकास मन्त्रालयले युवाहरुलाई विदेश पठाउन भाषा नै सिकाउने योजना ल्याएपछि प्रदेश सरकारको नियतमाथि नै प्रश्न खडा भएको धनगढीकै अर्का युवा रमेश अवस्थीले बताए। सुदूरपश्चिम प्रदेश अहिले पनि युवाहरुको विदेश पलायनले हैरान भएको छ। सुदूरपश्चिमका पहाडी जिल्लामा त चाडपर्वको समय बाहेक अन्य समयमा बृद्धबृद्धा र बालबालिकाहरु मात्रै भेटिने समस्या रहेको छ।

यस्तो अवस्थामा युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर श्रृजना गराउने योजना ल्याउनुको सट्टा उल्टै युवालाई विदेश पठाउने कार्यक्रम ल्याउनु गलत भएको तर्क डडेल्धुरा अमरगढीका दिनेश पाण्डेयको छ। यता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोगन वहादुर हमालले भने उक्त कार्यक्रम मन्त्रालय आफैले छनौट नगरि संसदबाट पास भएर आएको योजना भएको बताए। उनले रोजागारीका लागि विदेश जानेहरुलाई रोक्न सक्ने अवस्था निकै कम भएकाले भाषा सिकेर विदेश जाउन भन्ने उद्येश्यले उक्त कार्यक्रम ल्याएको बताए। 

 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस