सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुल्मीकी मनिषाले गरिन् एकै वर्षमा लोकसेवाका पाँच परीक्षा उत्तीर्ण

२०८० माघ ४, ०९:३२ खबर संवाददाता

गुल्मी: गुल्मीकी मनिषा जीसी (विष्णु घर्ती)ले एक वर्षमा लोकसेवा आयोगले लिएका विभिन्न पदका पाँच परीक्षा उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जीसीले एक वर्षभन्दा छोटो समय अवधिमा पाँच परीक्षा उत्तीर्ण गरेकी हुन्। 

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तहको परीक्षा उत्तीर्ण गरेकी हुन्। 

’सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,’ उनले भनिन्। परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ। उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको बताइन्। ’स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ,’ उनले भनिन्, ’रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।’ उनले पढाइमा सहयोग गर्ने परिवारका सबै सदस्यलाई धन्यवाद दिइन्।

उजले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन् । यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन पनि गर्छिन् । रासस

कमेन्ट लोड गर्नुस