सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सरकारबाट धनगढीमा पानीको बहाब रोक्नेगरी तटबन्ध निर्माण गरिँदै

२०८० पुष २९, १२:५२ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले खोलाको बहाब रोक्नेगरी तटबन्ध निर्माण गर्न थालेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र ८ को बिचमा पर्ने खोलामा तटबन्ध गर्दा पानीको बहाउ रोकिने भन्दै स्थानीयले विरोध गरेका छन्। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले ९० लाखको लागतमा धनगढीका तीन ठाउँमा तटबन्ध गर्दैछ। धनगढीको सेतोपुल क्षेत्रमा गर्न लागिएको एक सय ८६ मिटरको तटबन्ध निर्माणमा विवाद देखिएको छ।

टोल विकास समितिका अध्यक्षसमेत रहेका सुरेन्द्र बोहराले वडा नम्बर ८ को कार्यालय रहेको क्षेत्रमा पुरानो तटबन्ध र नयाँ प्रदेश सरकारले गर्न लागेको तटबन्धका कारण पानीको बहाब रोकिने बताए। उनले भने, ‘बर्खाको समयमा यो क्षेत्र समुन्द्र जस्तो हुन्छ। खुटियादेखि पानी आउने खोला हो, यो। दुबैतिरबाट खोला पुरिएको छ। पारितिर पहिला तटबन्ध गरिएको छ। यो वर्ष फेरि यताबाट तटबन्ध गर्न थालियो।

खोलाको पानी कता बग्ने हो? नदीको निकास किन नगरेका होलान?’ कैलाली बहुमुखी क्याम्पस हुँदै बग्ने खोलाको सेतोपुल क्षेत्रमा दुबैतिरबाट अतिक्रमण गरिएको स्थानीयको गुनासो छ। सेतोपुलदेखि धनगढी माध्यमिक विद्यालय क्षेत्रको दुर्गा मन्दिरसम्म खोला दुबैतिरबाट अतिक्रमण गरेर संरचना निर्माण गरिएकाले बर्खाको समयमा समस्या हुने गरेको स्थानीय टंक जोशीले बताए। उनले भने, ‘पारिबाट नदीमा नै तटबन्ध गरियो।

वडा नम्बर ८ क्षेत्रमा पुरानो हो। यताबाट पनि तटबन्ध गरिदैछ। पुलको बिचमा नै जाली लाग्दैछ। पानीको निकास कता हो? खोलाको बिचमा जाली देखिदैछ।’ धनगढीको वडा नम्बर १ र ८ को बिच भएर बग्ने नदी भूमाफियाहरूले अतिक्रमण गरेका कारण बसन्तटोल ढुबानमा पर्दै आएको स्थानीयको गुनासो छ। बसन्तटोलका स्थानीयले उपमहानगरपालिकासँग नदीको क्षेत्राधिकार खाली गराउन आग्रहसमेत गरेका छन्।

पूर्व वडाध्यक्ष नारायण बरालको समयमा बिच नदीमा तटबन्ध गरिएको भन्दै उनीहरूले गुनासो गरेका छन्। स्थानीय कृष्णा विश्वकर्माले नदीको बहाब रोक्ने संरचना निर्माण गर्न नहुने बताइन्। उनले भनिन्, ‘खोलाको पानीमा तटबन्धको जग हालेपछि पानीको बग्ने बाटो कता हो? सडक मात्र चौडा बनाइएको छ। सडकको पानी पनि नालामा बगाउने होला। तर, नालाको चौडाइ खोइ? नालाको चौडाइ पनि बनाउनुपर्यो।’

धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले स्थानीयको विरोधपछि तटबन्ध निर्माणको काम रोकेको छ। तर, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले दर्ता जग्गामा तटबन्ध निर्माण गर्नुपर्ने अवस्था रहेको बताएको छ। जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीले गत आर्थिक वर्षमा ९० लाखको लागतमा तीन ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरेको थियो।

विशेश्वर निर्माण सेवा, धनगढीसँग १८६, ९० र १२० मिटर गरेर तीन ठाउँमा तटबन्ध निर्माणका लागि सम्झौता गरिएको जलस्रोत तथा सिँचाई डिभिजन, कार्यालय धनगढीे बताएको छ। तटबन्ध निर्माणको समय फागुनसम्म समय सिमा रहेको छ। जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, धनगढीका प्राविधिक मोहन पन्तले उपमहानगरपालिकासँगको सहकार्यमा तटबन्ध निर्माणको काम सुरु गरेको बताए। उनले भने, ‘१८६ मिटर हो। खोलाको क्षेत्र छोडेर काम गर्ने भनेका थियौ। तर, दर्ता जग्गा रहेछ। जाली दर्ता जग्गामा हाल्ने भनेका थियौ। घरको नजिक आएकाले विरोध भएको छ। फाउण्डेशन गरेका छौ। नगरपालिकाका अमिन बोलाएर काम गरेका हौ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस