सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा क्षेत्रीय सहरी सडक निर्माणको काम अलपत्र, बजेट नभएको दाबी

२०८० पुष २९, ११:२४ कमल सावद

धनगढीः कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा १६ दशमलव ५२ किलोमिटर सडक कालोपत्रका लागि २०७७ साउनमा सम्झौता भयो। कालिका कन्स्ट्रक्सनले ५५ करोडको लागतमा नालीसहितको सडक निर्माणका लागि ठेक्का पाएको थियो। दुई वर्षमा सडक निर्माण गर्ने सम्झौता भएको थियो। तर आवश्यक बजेट नभएको भन्दै निर्माण कम्पनीले बाँकी सडक निर्माणको काम अघि बढाउन सकेको छैन्।

तर, अहिलेसम्म सडक निर्माणको ९४ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्षमा तीन करोड मात्र बजेट विनियोजन गरेपछि झन समस्या भएको छ। निर्माण कम्पनीले काम गरेको पाँच करोड १७ लाख रुपैयाँ पाउन बाँकी छ। कालिका कन्स्ट्रक्सनका प्रतिनिधि प्रकाश खरेलले काम गरेको रकमको समेत भुक्तानी नपाएको बताए। उनले भने, ‘गोदावरीमा बजेट छैन। काम सकिदै थियो। बजेटका कारण काम रोकिएको छ। धनगढीमा बजेट छ। तर, गोदावरीका लागि बजेट छैन। अर्थ–मन्त्रालयले बजेट दिएन भने, धनगढीकोसमेत काम रोकिन सक्छ।’

गेटा आँखा अस्पतालदेखि जोनापुरसम्मको ५ दशमलव ५ किलोमिटर सडकको अस्पताल क्षेत्रको काम बाँकी छ। अस्पताल क्षेत्रका संरचना खाली भएकाले सडक निर्माणमा समय लागेको दाबी छ। एक दशमलव ६ किलोमिटरको लालपुर–गौडी सडक, ५ दशमलव ३२ किलोमिटरको गेटा–लालपुर सडक, एक दशमलव ९१ किलोमिटरको चौकीडाँडा–चक्लाखेत सडक, एक दशमलव ७६ किलोमिटरको कत्था उद्योग–जोनापुर सडक र शून्य दशमलव ४३ किलोमिटरको सिर्जनानगर सडकमा क्षेत्रीय सहरी विकासमार्फत कालोपत्र हुँदैछ। क्षेत्रीय सहरी विकासका इन्जिनियर सौरभ कलौनीले चालु आर्थिक वर्षमा तीन करोड मात्र बजेट विनियोजन भएको बताए। उनले भने, ‘तीन करोड बजेट थियो। गत वर्ष सक्ने कुरा थियो। सकिएन। यताबाट उता हाल्न मिल्छ। त्यो गर्न बाँकी छ।’

क्षेत्रीय सहरी विकास आयोजनाले एसियाली विकास बैँकको ऋण सहयोगमा गोदावरी नगरपालिका क्षेत्रमा सडक निर्माण गर्दैछ। दुई महिना अघि मात्र एक करोड सात लाखको बिल पेस भएकोमा क्षेत्रीय सहरीले अहिलेसम्म भुक्तानी दिइएको छैन। तीन करोडको थप काम भएको निर्माण कम्पनीको दाबी छ। एक करोड १० लाखको भेरियसन स्वीकृत नभएकाले निर्माण कम्पनीले भुक्तानी पाएको छैन। निर्माण कम्पनीले चार करोडको काम गर्न बाँकी छ। निर्माण कम्पनीले झण्डै १० करोड भुक्तानी पाउन बाँकी रहेको पनि भएपनि सहरी विकाससँग तीन करोड मात्र बजेट रहेको निर्माण कम्पनीका प्रतिनिधि खरेलले बताए। उनले भने, ‘९४ प्रतिशत काम सकिएको छ। चार करोडको मात्र काम गर्न बाँकी होला। ४६ करोड जति पाएका छौ। बाँकी काम गरेको पैसा पनि पाउन बाँकी छ।’

दुई वर्षमा निर्माण सक्नुपर्ने सडकको काम चार वर्षमा पनि सकिएको छैन। कालोपत्रसँगै सडक रङ्गरोगन, फुटपाथ निर्माणलगायतको काम अझै बाँकी छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस