सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियाको दोहोरी साँझमा कुटिएका देउवा दोस्रो दिन पुगेका थिए घर

२०८० पुष २९, ०८:४४ खबर संवाददाता

धनगढी :कैलालीको अत्तरियाको सत्कार दोहोरी साँझमा कुटिएका श्याम देउवा दोस्रो दिन बिहान मात्र घर पुगेको खुलेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४२ वर्षीय देउवामाथि बुधवार राति दोहोरी साँझमा कुटपिट भएको थियो। उनी दोस्रो दिन बिहान मात्र परिवारको सम्पर्कमा आएका हुन्। 

उनी टेकबहादुर नायकसँगै दोहोरी साँझमा पुगेका थिए। दोहोरी साँझमा उनीहरूको अन्य युवाहरू सँग विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले दोहोरी साँझमा सामान्य विवाद भएको देखिएको बताए। उनले भने, हामीले सोधपुछसँगै सिसिटिभी क्यामरा पनि हेरेका छौ। भित्र सामान्य विवाद भएको देखिन्छ। दोहोर साँझबाट उहाँहरू बाहिर आउनु भएको छ। तर, भित्र कुटपिट भएको देखिएको छैन। उहाँको कुटपिट कता भयो? बाहिर आएपछि उहाँ कोसँग जानु भयो? कता जानु भयो? केही खुलेको छैन। तर, दोस्रो दिन मात्र परिवारको सम्पर्कमा आउनु भएको छ।’ दोहोरी साँझभित्र सिसिभिटी क्यामरा भएपनि बाहिर विद्युत् नभएकाले अनुसन्धानमासमेत समस्या देखिएको हो। 

दोस्रो दिन बिहान मात्र उनी चौकीडाँडामा फेला परेका थिए। मोबाइल लिन भित्रिएका श्याम देउवाका साथी टेकबहादुर भने दोस्रो होटेलमा सुतेका खुलेको छ। उनी श्याम देउवाको मोटरसाइकल चढेर दोस्रो होटेलसम्म गएका हुन्। उनले बाहिर देउवा नदेखेपछि उनको मोटरसाइकल लगेर अर्को होटेलमा सुत्न गएको प्रहरीलाई बयान दिएका छन्। रातिको समयमा हराएको देउवा बिहान चौकीडाँडामा रोडको किनारमा अचेत अवस्थामा भेटिएका थिए।

तर, उनी चौकीडाँडासम्म कसरी गएका थिए? खुलेको छैन। कुटपिटपछि बेहोस भएका देउवा बिहान होस खुलेपछि मात्र परिवारको सम्पर्कमा आएका देखिएको छ। परिवारका सदस्यले धनगढीको निर्सग अस्पताल भर्ना गरेका उनको मृत्यु भएपछि ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता चन्दले परिवारको उजुरीपछि ६ जनालाई पक्राउ गरिएको बताए। उनले अनुसन्धानका लागि शनिवार आफू अत्तरिया गएको समेत बताए। 

गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह,  गोदावरी– ६ का प्रकाश ओली, उमेश बडैला, गोदावरी–१ का २८ वर्षीय यज्ञ विक, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का टेकबहादुर नायक र रामबहादुर ऐर पक्राउ परेका छन्। तर, देवालाई कुटपिट गर्ने को–को थिए? खुलेको छैन। घटनाको बारेमा अनुसन्धान जारी छ। 

याे पनि पढ्नुस् :

अत्तरियाको दोहरी साँझमा कुटपिट हुँदा एक जनाको मृत्यु, ६ जना पक्राउ

कमेन्ट लोड गर्नुस