सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरमा लागुऔषधको कारोबार गर्ने १८ भारतीय जेल चलान, ७५६ जना पक्राउ

२०८० पुष २८, १०:४९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा लागुऔषधको कारोबार गर्ने १८ जना भारतीय नागरिक नेपाली जेल (कारागार) चलान भएका छन्।

भारतका विभिन्न सहरबाट सुदूरपश्चिममा लागुऔषध भित्र्याएर कारोबार गर्दै आएका १८ जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो। साथै सुदूरपश्चिममा १० महिनामा लागुऔषधका कारोबारी र सेवनकर्ता गरी ७ सय ५६ जना पक्राउ परेका छन्। सीमा क्षेत्रमा भइरहेको लागुपदार्थको तस्करी र चोरी पैठारी रोक्न चुनौति हुने गरेको प्रदेश प्रहरी कार्यालयले बताउँदै आएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार १८ जना भारतीय नागरिक नेपाली जेलमा छन्। उत्तर प्रदेशका नितिन गुप्ता, धर्मेन्द्र कुमार, शुभम भासीन र महेन्द्र सिंह नेपाली जेलमा छन्। पिलिभित भारतका सुच्चा सिंह, मनतोष हिरा, सोना सिंह, सुखदेव सिंह, बलजित सिंह र अजविन्द्र सिंह जेलमा छन्। त्यस्तै, चमपावत भारतका अमन चन्द, लखिमपुरका सानु अन्सारी, जोगा सिंह, अनिल भन्ने निल सिंह, ग्राम गुलरिया सहिजानपुरका सुभाषचन्द र उत्तराखण्डका धर्मेन्द्र दुबे रहेका छन्।

लखिनीपुर खिरीका ५० वर्षीय महंगा सिंह भने लागूऔषध सम्बन्धी मुद्दा दर्ता भइ हिरासतमा छन्। भारत पिलिभित किल्ला नम्बर ४ उत्तराखण्डका ३४ वर्षीय सोनु भन्ने सुरेन्द्र सिंह भने लागूऔषध मुद्दामा प्रतिवादी कायम भइ फरार छन्।
धेरै युवाहरुलाई लागुऔषध ढुवानीमा प्रयोग गरिँदै आएको समेत पाइएको छ। भारतीय सीमा शहरदेखि नेपाली सीमा शहरसम्मै लागुऔषधको जालो छ।

एक ग्रामको ढुवानी २ हजार देखि तीन हजारसम्म पाउने गरेको सुदूरपश्चिम प्रदेशका डीआइजी भरतबहादुर बोहराले बताए। भारतमा रहेका गिरोहका नाइकेहरुलाई पक्राउ गर्न नसकेसम्म नेपालमा लागुऔषध नियन्त्रण गर्न नसकिने उनले बताए। प्रदेश प्रहरी कार्यालयले सीमा शहरहरुमा लागुऔषधको कारोबार गर्ने १३ जनाको नाम, ठेगाना र फोन नम्बर समेत भारतीय प्रहरीलाई उपलब्ध गराएको छ। तर अहिलेसम्म एक जना पनि पक्राउ गरेको खबर प्राप्त नभएको डीआइजी बोहराले बताए।

प्रहरीले भजनी, बनगवाँ, बसै, पलिया र रामपुर क्षेत्रमा ब्राउन सुगरको कारोबार गर्नेहरुको नामवली नै भारतीय काउन्टर पार्टलाई पठाएको छ। तर उनीहरुमाथि अहिलेसम्म कुनै कारवाही भएको छैन्। १८ जना भारतीय नागरिक कारागारमा छन्। उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन। उनीहरुमाथि लागुपदार्थ विक्रि वितरणका मुद्धाहरु चलिरहेका छन। तर ठुला कारोबारी भने नेपालतर्फ आउने गरेका छैनन्।

कमेन्ट लोड गर्नुस