मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान नपाउने
काठमाडौंः राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीका स्वकीय सचिव र सल्लाहकारहरुलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको छ।
कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरुलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको हो। मन्त्रीहरुले कर्मचारीको कोटामै आफ्ना स्वकीय सचिवालयका कर्मचारी लैजान थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आयोगले यसबारे आवश्यक कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको थियो।
सतर्कता केन्द्रका सूचना अधिकारी हरिप्रसाद शर्माका अनुसार २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरुप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरु र सातवटै प्रदशेका मुख्यमन्त्रीको कार्यालयलाई निर्देशन दिइएको हो।