कैलालीमा चोरीका घटना बढे, जनमानसमा त्रास
धनगढीः २०८० मंसिरमा कैलालीको धनगढीमा एक घरबाट चोरी भयो। धनगढी उपमहानगरपालिका–५ तारानगरमा रहेको एक घरबाट सुनका गरगहना ८ तोला, तीन लाख नगद, ४ तोला चाँदीका सामाग्री नै चोरी भयो।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरमा चोरी भएको हो। सपरिवार पुजाका लागि डोटी गएका थिए। धनगढी स्थित घरमा पुग्दा चोरी भएको थाहा भएको थियो। चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरगहना चोरेर लगेको थियो। जिल्लाका विभिन्न स्थानमा यसैगरी चोरीका घटना बढ्न थालेको स्थानीयको गुनासो छ।
चालु आर्थिक वर्ष सुरु भएसँगै जिल्लामा चोरीका घटना एकपछि अर्को बढ्न थालेको छ। पछिल्लो समय व्यक्तिका घर, सहकारी तथा सरकारी भवनमा चोरीका घटना हुने गरेको गुनासो बढ्न थालेको छ। २०८० कात्तिकमा मात्र कैलाली जिल्ला अदालतबाटै राति पेस्तोल र गोली चोरी भएको विषय बाहिर आएको थियो।
अदालतबाट पेस्तोल र गोली पनि चोरी भएको थियो। राति साढे १० बजे अदालतको दक्षिणतर्फ रहेको अभिलेख शाखाको ग्रिल फोडेर भित्र पसेका चोरले मुद्दाका मिसिलका साथमा रहेका पाँच थान मोबाइल, एक थान कटुवा पेस्तोल र चारवटा गोली समेत चोरी गरेको हो।
अदालतको प्रवेशद्वार र परिसरभित्र प्रहरीले सुरक्षा दिने गरेको छ। तर, दक्षिणतर्फको भागबाटभित्र पसेकाले स्रेस्तेदार, मुद्दा दर्ता फाँट, अभिलेख शाखा सबैतिर गएको देखिएको प्रहरीले जनाएको छ। उनीहरू पहिलेदेखि नै कुन मिसिल कहाँ छ, मुद्दा फाँट कहाँ छ? भन्ने जानकारी राखेर भित्र पसेको अनुमान गरिएको थियो। त्यही परिसरमा रहेका प्रहरीले समेत राति चोरी भएको घटना थाहा पाउन सकेका थिएनन्।
यसरी कैलालीमा व्यक्तिका घर, निजी संघसंस्थाका कार्यालय र अदालतभित्रै चोरीका घटना यसैगरी बढ्दा पनि प्रहरीको सक्रियता बढ्न सकेको छैन्। दर्जनौँ घर, सहकारी तथा सरकारी भवनबाट चोरी भए पनि चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ पर्ने गरेका छैनन् भने तोडफोड तथा चोरीका घटना बढेसँगै जनमानसमा त्रास फैलिएको छ।
सुरक्षा सक्रियता बढाउनुपर्नेमा सुरक्षा संवेदनशीलता कस्तो रहेछ भनी नागरिकमा निराशा पैदा भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि पौष तेस्रो सातासम्म २२ वटा चोरीका घटना दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्ष २०७९/८० मा ६४ थियो।