सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका चोक–चोकमा दाउरा वितरण

२०८० पुष २६, ०३:११ खबर संवाददाता

धनगढीः कैलालको धनगढीका चोक–चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय, धनगढीले चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको हो।

चिसोका कारण जनजीवन प्रभावित भएका बेला दाउरा वितरण गरिएको सुदूरपश्चिमको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीको सचिवालयले बताएको छ। धनगढीमा सार्वजनिक स्थलहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरिएको हो।

चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्ने निर्णय गरेको थियो। सार्वजनिक स्थलहरूमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले गत मङ्गलवार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी समेत गरेको थियो।

शीतलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्वासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ। हिमपातको बेला भएकाले अहिले यहाँका पहाडी जिल्लामा पनि चिसो बढेर जनजीवन प्रभावित भएको छ।

भूमिहीन, सुकुम्वासीलाई प्राथमिकतामा राखेर सबैतिर सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्थाका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न निर्देशन दिइएको थियो।

 

कमेन्ट लोड गर्नुस