इपिएस आन्दोलनमा ज्यान गुमाएका अछामका शाहको परिवारलाई आर्थिक सहयोग
धनगढीः इपिएस अन्दोलनमा ज्यान गुमाएका सुजन राउत र वीरेन्द्र शाहको परिवारलाई आर्थिक सहयोग गर्न कोरियामा चलाइएको अभियानबाट १५ लाख आर्थिक सहयोग संकलन भएको छ।
हाल दक्षिण कोरियामा रहेका धनगढी –१ शिवनगर स्थायी घर भएका सामाजिक अभियानकर्ता बिबी सिंहको अग्रसरतामा आर्थिक सहयोग गर्न रकम संकलन गरिएको हो। सिंहको अगुवाइमा नेपाली सम्पर्क,समिति( एनसिसी), पत्रकार महासंघ दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया र दैलेख समाज दक्षिण कोरियाको समन्वयमा सञ्चालित अभियानबाट संकलित रकममध्ये ७ लाख ५७ हजार शाहको परिवारलाई हस्तान्तरण गरिएको हो।
एनआरएनए कोरियाका वरिष्ठ उपाध्यक्ष महेश बजगाईंले कोरियाबाट पीडित परिवारसँग संवाद गरी आर्थिक सहयोग हस्तान्तरण गर्न भूमिका निर्वाह गरेका हुन्। उक्त रकम अछाम सेवा समितिले आयोजना गरेको श्रद्धाञ्जली शभामा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बुधवार मृतकका बुवा टेकबहादुर शाहलाई हस्तान्तरण गरेका हुन्।