सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाउरा वितरण गर्न वन मन्त्रालयको निर्देशन

२०८० पुष २४, ०५:४९ खबर संवाददाता

धनगढीः चिसो बढेर नागरिकको जनजीवन प्रभावित हुन थालेपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आगो ताप्ने व्यवस्थाका लागि दाउरा वितरण गर्न मातहतका डिभिजन वन कार्यालयहरुलाई निर्देशन दिएको छ। 
सार्वजनिक स्थलमा आगो ताप्ने व्यवस्थाका लागि नियमानुसार दाउरा वितरण गर्न मन्त्रालयले मंगलबार सुदूरपश्चिम प्रदेशमा रहेका सबै डिभिजन वन कार्यालयका नाममा निर्देशन जारी गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले अत्यधिक चिसोका कारण अहिले नागरिकको जनजीवन प्रभावित हुन थालेपछि दाउरा वितरण गर्न भनिएको बताए।

शितलहरका कारण केही दिनयता तराइमा चिसो अत्यधिक बढेको छ। चिसोका कारण, भूमिहीन, सुकुम्बासीलगायत विपन्न वर्गका नागरिक बढी प्रभावित भएका छन्। बालबालिका र वृद्धवृद्धाले चिसोमा बढी समस्या भोग्नुपर्छ। हिमपातको बेला भएकाले अहिले यहाँका पहाडी जिल्लामा पनि चिसो बढेर जनजीवन प्रभावित भएको छ।

मन्त्री धामीले भूमिहीन, सुकुम्बासीलाई प्राथमिकतामा राखेर सबैतिर सार्वजनिक स्थलमा आगो बाल्ने व्यवस्थाका लागि प्रदेशका १० वटै डिभिजन वन कार्यालयलाई दाउरा वितरण गर्न भनिएको बताए। ‘चिसोबाट जोगिन सहज होस् भनेर दाउरा वितरण गर्ने निर्णय गरिएको हो’ मन्त्री धामीले भने। वन मन्त्रालयले पहिलो पटक यसरी दाउरा वितरण गर्न लागेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस