सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयल निगमको धनगढी डिपोबाट व्यवसायीसँग अवैध असुली

२०८० पुष २३, ०७:०२ नारायण अवस्थी

धनगढीः नेपाल आयल निगमको धनगढी डिपोले व्यवसायीसँग अवैध असुली गरेको गुनासो गरिएको छ।

कैलालीका पेट्रोल पम्प सञ्चालक र ट्याङ्कर व्यवसायीहरूले आयल निगम धनगढीका प्रमुखले अवैध असुली गरेको बताएका हुन्। आयल निगम डिपो धनगढीका प्रमुख मोहनकुमार साहले पेट्रोल ढुवानी गर्ने ट्याङकर र पेट्रोल पम्पबाट रकम असुली गरेको व्यवसायीहरूको गुनासो छ।

व्यवसायीहरूले आयल निगमबाट महिना दुई महिनामा पम्प सुपरिवेक्षण गर्न आउँदा चिया पानी भन्ने हिसाबले दिन्छौँ भनेर गुनासो गरेको कैलाली पेट्रोलियम व्यवसायी संघका अध्यक्ष चक्र मल्लले बताए। करिब एक वर्ष अघि आयल निगमको धनगढी डिपो आएका उपनिर्देशक मोहनकुमार साहले ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालहरूबाट अवैध असुली गरेको गुनासो गरिएको भए पनि ट्याङ्कर व्यससायी संघका अध्यक्ष मनिराम पाण्डेयले भने अहिलेसम्म आफूबाट रकम असुल नगरिएको बताए।

उनले अन्यले व्यवसायीले पनि आफूसँग गुनासो नगरेको बताए। तर,धनगढीको आयल निगम डिपो प्रमुख साहले दैनिक रुपमा पेट्रोल पम्पसम्म इन्धन ओसार्ने निजी ट्याङ्कर व्यवसायीबाट मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको केही व्यवसायीको गुनासो छ। पेट्रोल पम्प सञ्चालकहरूले जस्तै ट्याङक धनीहरूले पनि आयल निगमका प्रमुख साहले अवैध असुली गरेको गुनासो गरेको बताए।

धनगढी डिपोबाट सुदूरपश्चिमका एक सय चार पेट्रोल पम्पमा इन्धन वितरण हुने गरेको छ। इन्डियन आयल कर्पोरेसनको मन्थरा डिपोबाट निगमको धनगढी डिपोसम्म इन्धन ओसार्ने ट्याङ्करलाई मासिक ढुवानी भाडा भुक्तानी गर्दासमेत साहले १ दशमलव ५ प्रतिशतका दरले कमिसन लिने गरेको ट्याङ्कर व्यवसायीको गुनासो छ। ढुवानी भाडाको कमिसन नदिए ट्याङ्कहरूले तेल लिन भारत जाने पालो नपाउने उनीहरूले बताएका छन्।

साहले धनगढी डिपोमा भारतबाट इन्धन ओसार्ने करिब ८५ ट्याङ्कर मध्ये अधिकांशबाट कमिसन उठाउने गरेको आरोप लागेको छ। तर, कमिसन उठाएको आरोप झुठो भएको आयल निगम धनगढी डिपो प्रमुख साहको छ। उनले इन्धनको आपूर्ति सहज रुपमा भइरहेको बेला झुठो लेख्ने काम भएको बताए। ‘सब झुठो हो, यो सब नर्मल तरिकाले तेलहरू गइरहेको छ। ढुवानी पनि सपोर्टमा छ’, उनले भने, ‘कसले उल्टो–उल्टो लेखाउँछ थाहा छैन।’

व्यवसायीले चलाएका पेट्रोल पम्पको अनुगमन गर्ने नाममा पनि साहले रकम असुल्ने गरेको व्यवसायीको गुनासो छ। पेट्रोल पम्प सुपरिवेक्षण गर्न जाँदा साहले डिपोमा कार्यरत करार सेवाका कर्मचारी डिलबहादुर ऐरलाई साथमा लैजाने र ऐरले नै पेट्रोल पम्प व्यवसायीहरूबाट ‘नास्ता पानी खर्च’ को नाममा हरेक पटक पाँच हजार उठाउने गरेको दाबी गरिएको छ। तर, साहले यी सबै आरोप सत्य नभएको दोह¥याएका छन्।

अनुगम गर्दा हामीले टिम बनाएर चार पाँच जनाले अनुगम गर्छौँ। ऐरले अनुगम गर्दैन। यो सब झुठो कुरा हो, त्यो झुठो कुराको पछि  नलागौँ हैन, त्यस्तो हाम्रो छैन।’ साहले इन्धन ढुवानी गर्न नयाँ ट्याङ्करलाई सिफारिस दिँदा पनि रकम असुल्ने गरेको व्यवसायीले बताए। यस्तै, भारतबाट ल्याएको तेल धनगढी डिपोमा खन्याउने पालो पाउन र फेरि भारत जान अनुमति लिन रकम दिनुपर्ने गुनासो समेत गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस