सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार करोड रुपैयाँ खर्चेर कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालन

२०८० पुष २२, ०६:१६ कमल सावद

धनगढीः चार करोड रुपैयाँ खर्चेर कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको छ। कैलाली र सुर्खेतको सिमा क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा ल्याइएको हो।

स्काई बर्ड एड्भेन्चर स्पोर्टले ‘मोटर बोट’ सञ्चालनमा ल्याएको छ। कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पञ्चपुरी नगरपालिका–११ क्षेत्रमा पर्ने कर्णाली नदीमा ‘मोटर बोट’ सञ्चालनमा आएको हो। कैलालीको पितमारीदेखि भेरी–कर्णालीको त्रिवेणीसम्म ‘मोटर बोट’ सञ्चालन हुनेछ। स्काई बर्ड एड्भेन्चर स्पोर्टका प्रबन्धक निर्देशक केशव गाहले चार करोडको आयोजना रहेको बताए।

उनले भने, ‘लगानी अहिले चार करोडको योजना हो। पहिलो चरणमा एक बोट आएको छ। दोस्रो चरणमा सानो १० सिटको आउँछ। यो ठुलो, डबल इन्जिन भएको बोट हो। गर्मीको समयमा पनि बोट चल्छ। प्रकृतिसँग रामाउनका लागि बोट सञ्चालन गरेका हौ।’ कैलालीको पितमारीदेखि भेरी–कर्णालीको त्रिवेणीसम्म ‘मोटर बोट’ सञ्चालनमा आएको हो। स्काई बर्ड एड्भेन्चर स्पोर्टले चार करोडको लगानीमा मोटर बोट सञ्चालन गरेको छ।

कैलालीको मोहन्याल गाउँपालिका–७ र सुर्खेतको पन्चपुरी–११ को क्षेत्रमा पर्ने कर्णाली नदीमा बोट सञ्चालनमा आएको हो। कर्णाली नदीमा बोट सञ्चालनका लागि स्काई बर्ड एड्भेन्चर स्पोर्टले संघीय पर्यटन मन्त्रालयबाट स्वीकृती लिएको छ। तर, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने बोट सञ्चालनका लागि अनुमती छैन। गाहले भने, ‘नेपालमा काम गर्न समस्या छ।

मोटर बोटका सबै प्रक्रिया पूरा गरेका छौ। अहिले मोहन्यालको वडा नम्बर ७ मा सञ्चालन गरेका छौ। लम्की–चुहा नगरपालिका–३ को चिसापानी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्ज भएकाले सञ्चालनको अनुमती पाएका छैनौ।’ २२ जना सिट क्षमताको एकवटा बोट सञ्चालन गरिएको छ। पर्यटकको सङ्ख्या अनुसार बोट थप गर्ने तयारीमा कम्पनी छ।

स्काई बर्ड एड्भेन्चर स्पोर्टका प्रबन्धक निर्देशक केशव गाहले पहिलो चरणमा एक बोट मात्र सञ्चालन गरिएको बताए। उनले दोस्रो चरणमा सानो बोट आउने बताए। मोटर बोट सञ्चालन गरेको कम्पनीले प्रतिव्यक्ति पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ। असार र श्रावणको महिनामा भने मोटर बोट सञ्चालन हुने छैन। बाँकी समयमा बोट सञ्चालन हुने कम्पनीको दाबी छ।

कर्णाली–चिसापानीमा रहेको एक खम्बाको पुलका कारण पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएका बेला मोटर बोट समेत सञ्चालनमा आएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नीजि क्षेत्रको लगानीका लागि प्रदेश सरकार सहकार्य गर्ने बताए। उनले भने, ‘यो सुदूरपश्चिमको सम्वृद्धिका लागि एक कोशे ढुङ्गा हो। पर्यटन क्षेत्रको विकासका लागि ठुलो योगदान हुनेछ। कर्णाली नदीमा अन्य बोटहरुसमेत सञ्चालन गर्नुपर्छ।’

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस