सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको त्रिनगर माविका सटरहरु प्रतिस्पर्धा विना भाडामा, वार्षिक ८७ लाख आम्दानी गुम्दै

२०७६ वैशाख २५, ११:५६ जनक विष्ट

धनगढीको त्रिनगर माध्यमिक विद्यालयको स्वामित्वमा रहेका सटरहरु वषौँदेखि प्रतिस्पर्धा विना नै भाडामा लगाईएपछि विद्यालयले वार्षिक लाखौँ आम्दानी गुमाईरहेको छ। विद्यालयले धनगढी मुख्य बजारमा  आफ्नो स्वामित्वमा रहेका सटरहरु वषौँ  पहिले देखि टेण्डर प्रक्रिया विना नै व्यापारिक प्रयोजनका लागि व्यापारीहरुसंग सम्झौता गरेर मासिक न्युन शुल्कमा भाडामा दिएको छ। विद्यालयले व्यापारिक प्रयोजनका लागि निर्माण गरेका दुईवटा शपिङ कम्प्लेक्सका ३९ मध्ये टेण्डर प्रक्रिया मार्फत प्रतिस्पर्धा गराएर भाडामा दिईएका तीन वटा सटरको मासिक भाडा साढे १९ देखि झण्डै २७ हजार रहेका बेला प्रतिस्पर्धा विना दिईएका सटरमा भने त्यसको नौ गुणा कम भाडा लिईदै आएको छ।  

वषौँ पहिले केही सीमित व्यक्तिहरुसंग न्युन रकममा सम्झौता गरेर भाडामा दिईएका सटरहरुबाट अहिले पनि पुरानै शुल्क लिईदै आएको छ। विद्यालयले प्रतिस्पर्धा विना भाडामा लगाएका ३६ सटरबाट  अहिले पनि न्युनतम तीन हजार देखि अधिकतम आठ हजार सम्म भाडा लिइरहेको छ।  त्रिनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले विगतमा तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय, व्यवसायी तथा सर्वदलिय सहमतीका आधारमा आपसी समझदारीमा सटरहरु भाडामा लगाईएको बताए।

 

प्रतिस्पर्धा विना नै भाडामा लगाईएका  धनगढी मुख्य बजारका ३६ वटा सटर मध्ये चारवटा सटरबाट मासिक तीन हजार तीन सय, सातवटा सटरबाट मासिक चार हजार छ सय, छ वटा सटरबाट छ हजार तीन सय २५, सातवटा सटरबाट छ हजार चार सय, पाँचवटा सटरबाट सात हजार एक सय ५० र छ वटा सटरबाट ८ हजार ५० का दरले मासिक भाडा लिर्दै आएको छ भने एउटा क्यान्टीनबाट तीन हजार नौँ सय ७० भाडा लिदै आएको छ। तर टेण्डर प्रक्रिया मार्फत भाडामा लगाईएका तीनवटा सटरबाट क्रमशः १९ हजार पाँच सय, २० हजार पाँच सय र २६ हजार नौँ सय ५० मासिक भाडा शुल्क लिने गरिएको छ। विद्यालय प्रशासनले प्रतिस्पर्धा मार्फत सटरहरु भाडामा दिन चासो नदिएको विषयमा प्रधानाध्यापक भुपाल खड्काले त्यसका लागि विद्यालय व्यवस्थापन समितिको निर्णय आवश्यक पर्ने बताए। 

उनले सटरहरु टेण्डर प्रक्रिया मार्फत भाडामा लगाउने विषयमा प्रवेश गर्ने तयारी भएको दावी समेत गरे। नयाँ विद्यालय व्यवस्थाप समिति गठन हुने चरणमा रहेकाले भाडाको विषयमा पुर्नविचार गरिने खड्का बताउछन्। एउटा क्यान्टिन सहितका ३६ वटा सटरहरु प्रतिस्पर्धा विना नै न्युन भाडा शुल्कमा दिएका बेला विद्यालयले वर्षेनी ठुलो आम्दानी गुमाईरहेको छ।

न्युन भाडामा भाडामा दिईएका धनगढीको मुख्य बजारकै सटरहरुबाट विद्यालयले अहिले मासिक दुई लाख ८६ हजार आम्दानी गरिरहेको छ। तर टेण्डर प्रक्रिया मार्फत सटरहरु भाडामा लगाए एउटै सटरबाट मासिक २७ हजार सम्म आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण  प्रतिस्पर्धा मार्फत दिईएका सटरहरु नै बनेका छन्। विद्यालयले अहिले ३९ वटा सटरहरुबाट मासिक दुई लाख ८६ हजार र वार्षिक ३४ लाख ३९ हजार चार सय ४० रुपैँया आम्दानी गरिरहेको छ।

यदि ३९ वटै सटरहरुको भाडा टेण्डर प्रक्रिया मार्फत नै दिदै प्रत्येक सटरहरुको भाडा अंक २६ हजार नै कायम गरे विद्यालयले मासिक १० लाख १४ हजार र वार्षिक एक करोड २१ लाख ६८ हजार आम्दानी गर्न सक्नेछन। जुन रकममा अहिले विद्यालयले सटर भाडा वापत वार्षिक रुपमा प्राप्त गरिरहेको भन्दा ८७ लाख २८ हजारले बढि हुने देखिन्छ। तर त्यसका लागि विद्यालय प्रशासन र व्यवस्थापन समितिले कदम चाल्नुपर्ने सरोकारवालाहरुको सुझाव रहेको छ। सटर भाडाकै विषयमा रिर्पोटिङ गर्न गएका बेला आईतबार दिउँसो प्रधानाध्यापककै कार्यकक्षमा धनगढीका व्यापारी तेजेन्द्र थापाले दिनेश खबरकर्मी जनक विष्टमाथि कुटपिट गरेका थिए।  
 
 
 
 
 
       

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस