हिमशिखर सहकारीको १५ औं वार्षिकोत्सव सम्पन्न
धनगढीः हिमशिखर बहुद्देश्यीय सहकारी संस्थाको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ।
शनिवार सहकारीको कार्यालय तारानगरमा वार्षिक साधारणसभाको आयोजना गरिएको हो। वार्षिक साधारण सभामा सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्टार टीकाराम थापाले सहकारीले कृषि र उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। उनले सहकारी संस्थाले सदस्यहरूको आवश्यकताअनुसार काम गर्नुपर्ने बताए।
थापाले सहकारीका सम्पूर्ण शेयरधनी र बचतकर्ताको रकम सही ठाउँमा परिचालित गरेर काम गर्नुपर्ने बताए। “सहकारीको वार्षिक साधारणसभाले शेयर सदस्यहरुलाई सञ्चालक समितिले वर्षभरि गरेका कामका बारेमा जानकारी दिने र आगामी योजनाका बारेमा छलफल गर्ने अवसर दिन्छ,“ उनले भने, “साधारणसभाबाट सञ्चालक समितिलाई मार्गदर्शन गरिनुपर्छ।“
साधारण सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा सहकारीको शेयर पुँजी ३ करोड ५० लाख ९० हजार एक सय र बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार सात रहेको छ भने ऋण लागानी तथा असुली ५५ करोड ७१ लाख ५१ हजार १३८ छ।
संस्थाको कुल आम्दानी १० करोड ५० लाख ११ हजार ७३४ पुगेको संस्थाका प्रवन्धक महेन्द्र शाहीले बताए । सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा भएको साधारणसभामा सहकारीका उपाध्यक्ष रोशन सिंहले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव विमल जोशीले कार्यक्रम सञ्चालन गरेका थिए।
हिमशिखर सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभामा सहकारी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनले गौरीगंगा नगरपालिकाका नगर उपप्रमुख भोजबहादुर बम र पत्रकार प्रकाशविक्रम शाहसहित उत्कृष्ट बचत कर्ता, ऋणी तथा सहकारीका कर्मचारीलाई सम्मानित गरिएको छ।