बेलौरी नगरपालिकाले अतिक्रमित जमिन खाली गराउन थाल्यो
कञ्चनपुरः कञ्चनपुरको बेलौरी नगरपालिकाले लामो समयदेखि अतिक्रमित सरकारी जमिन खाली गराउन थालेको छ।
शुक्रवार बेलौरी– १ बन्दातालस्थित सानो बन्दाताल क्षेत्रमा डोजर चलाएर नगरपालिकाले अतिक्रमित सरकारी जमिन खाली गराएको हो। स्थानीय सरकारले पटकपटक अतिक्रमित सरकारी जमिन खाली गराउन आग्रह गर्दा नमानेपछि अन्तिममा डोजर नै प्रयोग गरेर खाली गराएको नगरपालिकाले जनाएको छ।
बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले नगर क्षेत्रमा रहेको सरकारी तथा सार्वजनिक जमिनको रेखदेख एवं संरक्षण गर्ने दायित्वअनुरूप अतिक्रमित क्षेत्र खाली गराएको बताए। प्रमुख चौधरीका अनुसार सानो बन्दतालको नाममा रहेको कित्ता नं. ३८६ को सरकारी जमिन अतिक्रमण गरेर बनाइएका घरटहरा र लगाइएको अन्नबाली हटाइएको छ।