सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार वर्षमा ९१८ जनाले लिए आफ्नै ज्यान, झुन्डिनेको सङ्ख्या धेरै

२०८० पुष १९, ०२:०७ कमल सावद

धनगढीः कैलालीमा चार वर्षमा नौ सय १८ जनाले आफ्नै ज्यान लिएका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार चार वर्षमा विष सेवन गरेर, झुन्डिएर, पानीमा हाम फालेर र आगो लगाएतर नौ सय १८ जनाले आफ्नै ज्यान लिएका हुन्। उनीहरूमा सबै भन्दा बढी झुन्डिर आत्म हत्या गर्नेको सङ्ख्या धेरै छ।

जिल्लामा चालु आर्थिक वर्षमा मात्र एक सय तीन जनाले आफ्नै ज्यान लिएका छन्। कैलालीमा सबैभन्दा बढी ७३४ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। यस्तै विष सेवन गरेर १४४, पानीमा हाम फालेर ३४ र आगो लगाएर दुई जनाले आत्महत्या गरेका छन।

आर्थिक वर्ष २०७७/०७८ मा झुन्डिएर २०३, विष सेवन गरेर ६२ र आगो लगाएर एक जनाले आफ्नै प्राण लिएका छन्। आर्थिक वर्ष ०७८/०७९ मा विष सेवन गरेर ३७, आगो लगाएर एक र झुन्डिएर २२१ जनाले प्राण लिएका छन्। आर्थिक वर्ष २०७९/०८० मा झुन्डिएर २१७, विष सेवन गरेर ३५, पानीमा हाम फालेर एक जनाले आफ्नो प्राण आफै लिएका छन्। चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १० जनाले विष सेवन गरेर आत्म हत्या गरेका छन्। जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ९३ जनाले झुन्डिएर आत्महत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार झुन्डिएर आत्म हत्या गर्नेको सङ्ख्या धेरै छ। चार वर्षको अवधीमा सात सय ३४ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। मानिस एक्लै बस्ने, परिवारभन्दा टाढा, मानसिक तनाब, आवेश लगाएतका कारणले जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या धेरै रहेको प्रहरी अधिकारीहरू बताउछन्। प्रहरीको अनुसन्धानमा घरायसी समस्याका कारण, घरेलु हिंसाका कारण पनि आत्महत्याको घटना हुने गरेका पाइएको छ। तर, जिल्लामा चार वर्षमा ४१ वटा मात्र आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएका छन्।

मुलुकी अपराध संहिता, २०७४ लागु भएपछि प्रहरीले उनीहरू विरुद प्रहरीले दुरुत्साहनमा मुद्दा चलाउने गरेको छ। २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म कैलालीमा ४१ जना विरुद्ध मात्र आत्म हत्या दुरुत्साहनको मुद्दा दर्ता भएका हुन्।

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस