कैलालीमा लागुऔषधका मुद्दा दोब्बर, साढे पाँच महिनामा १४६ विरुद्ध मुद्दा दायर
धनगढीः कैलालीमा लागुऔषधका मुद्दामा दोब्बरले वृद्धि भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९१ लागुऔषध सेवन तथा कारोबारका मुद्दा दर्ता भएका थिए। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा बढेर २०१ पुगेको हो। गत आर्थिक वर्षमा यो संख्या बढेर दोब्बर अर्थात ३४८ पुगेको छ।
चालु आर्थिक वर्षको हालसम्म मात्र जिल्लामा थप १४६ लागुऔषधका मुद्दा दर्ता भएका छन्। जिल्लामा प्रत्येक वर्ष दोब्बरले लागुऔषध मुद्दाको सङ्ख्या वृद्धि हुँदै गएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले लागुऔषधका मुद्दा प्रत्येक वर्ष वृद्धि हुँदै गएको बताए। उनले भने, ‘विषेश गरेर ब्राउनसुगरको सेवनकर्ताको संख्या बढेको छैन।
कैलाली बाहेकका जिल्लाका प्रयोगकर्ताले पाएका छैनन। तर, कैलालीका प्रयोगकर्ताले भारतीय बजारमा सहज रुपमा पाउने गरेका छन। तीन किलोमिटरमा भारतीय बजारहरु छन।’ कैलाली जिल्लामा २०७७/७८ देखि लागुऔषधका सेवनकर्ता र कारोबारी दोब्बरले बढ्दै पाइएको हो। भारतीय बजारमा लागुऔषधको शुलभता र खुला सिमानाका कारण कारोबारी र सेवनकर्ताको सङ्ख्या बढ्दै गएको हो।
भारतबाट प्रयोगकर्ताहरुले नै लागुऔषध कैलालीसम्म ल्याउने गरेका छन्। किशोर तथा युवा उमेर समूहकाले यसको प्रयोग र कारोबार गर्दै आएको पाइएको छ। कैलालीमा लागुऔषध सहज रुपमा नपाउने भए पनि भारतबाट प्रयोगकर्ताले नै भित्र्याउने गरेका छन्। चन्दले प्रयोगकता नै कारोबारीसमेत रहेको बताए। ‘प्रयोगकर्ताहरु छन्।
कारोबारीहरु पनि छन्। कारोबारी नभए, प्रयोगकर्ताले कताबाट पाउने? प्रयोगकर्ताले नसालाई निरन्तरता दिनका लागि कारोबारसमेत गर्दै आएका छन,’ उनले भने। भारतीय बजारमा लागुऔषधको शुलभता रहेकाले प्रयोकर्ताहरु भारतीय बजार केन्द्रीत भएका छन्। कैलालीमा लागुऔषधका मुद्दा सबैभन्दा बढी छन। जिल्लामा दर्ता हुने मुद्दामा ७५ प्रतिशत मुद्दा लागुऔषधका छन।
जिल्लामा सेवनकर्ताहरुले नै लागुऔषधको कारोबार गर्दै आएको बताउँछन् जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले प्रयोगकताहरुलाई लागुऔषधको कारोबार हुने ठाउँ र प्रयोगकर्ताका बारेमा पूर्ण जानकारी हुने भएपछि कारोबारीसमेत हुने गरेको बताए। उनले भने, ‘प्रयोगकताहरुले नसालाई निरन्तरता दिन, धेरै खरिद गरेर ल्याउने र बिक्री गर्ने गरेका छन्।’
कैलालीका लागुऔषध प्रयोगकर्ताहरुले भारतीय बजारका कुन–कुन क्षेत्रमा लागुऔषध उपलब्ध हुन्छ, सो बारेमा जानकारी हुन्छ। उनीहरुले नै जिल्लामा कारोबार समेत गर्दै आएका हुन्। प्रहरीले एक पटक पक्राउ परेर मुद्दा चलाएकाहरु पनि फेरि लागुऔषधको प्रयोग र कारोबारमा लाग्ने गरेको पाइएको छ।