नागरिक उन्मुक्तिले राष्ट्रिय सभाको एक सिट पाउने सहमति भएको छः रेशम चौधरी
धनगढी : सुदूरपश्चिमबाट नागरिक उन्मुक्ति पार्टीले राष्ट्रिय सभाको एक सिट पाउने सहमति भएको संरक्षक रेशमलाल चौधरीले बताएका छन्। धनगढीमा बुधवार बिहान पत्रकार सम्मेलनको आयोजना गरेका चौधरीले सुदूरपश्चिमका तीन सिटमा एक सिट नागरिक उन्मुक्तिले पाउने सहमति भएको बताएका हुन्।
उनले पुस २१ गते बस्ने सत्तारूढ गठबन्धनको बैठकले निर्णय गर्ने उनको दाबी छ। उनले भने, ‘एक सिट पाउने सहमति भएको छ। सुदूरपश्चिमबाट एक सिट पाउँछौ। २१ गतेको बैठकले पक्का गर्छ। कुन दिन भन्नेमा सम्झौता भएको छैन।’
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्य बनेका तीन जनाको पदावधि फागुनमा सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका हरिराम चौधरी उत्सव (कैलाली), महेश महरा (डडेल्धुरा) र नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी.इन्दु कडरिया (कञ्चनपुर)को पदावधि सकिन लागेको हो। नागरिक उन्मुक्ति पार्टीका १७ वटा मत रहेको छ। स्थानीय तहमा सात र १० वटा केन्द्रको भोट रहेको चौधरीले बताए।
राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ। त्यसअघि नै सत्ता गठबन्धनबिच समझदारी कायम गर्न शीर्ष नेताहरुबिच छलफल हुँदै आएको छ।